सिरी ए : तेस्रो स्थानको रोमामाथि लाजियोको प्रभावशाली जित

काठमाडौं, माघ ३
इटालियन सिरी ए लिगमा तेस्रो स्थानको रोमामाथि आठौं स्थानको लाजियोले प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको १८औं चरणको खेलमा लाजियोले आफ्नो घरेलु मैदानमा पाहुना टोली रोमामाथि ३–० को प्रभावशाली जित निकालेको हो ।

आफ्नो मैदानमा लाजियोलाई जिताउन सिरो इम्मोबिलेले १ गोल गरे भने लुइस अल्वेर्टोले २ गोल गरे । सिरोले खेलको १४औं मिनेटमा गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि २३औं मिनेटमा अल्वेर्टोले व्यक्तिगत पहिलो गोल गरेपछि लाजियो पहिलो हाफमा २–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा पनि लाजियोले १ गोल थप्दा रोमा भने गोलविहीन बन्यो । खेलको ६७औं मिनेटमा लाजियोका लागि अल्वेर्टोले व्यक्तिगत दोस्रो गोल गरेपछि टिमले ३–० को सुविधाजनक अग्रता बनायो । बाँकी समयमा रोमाले गोल निकाल्न सकेन । र, खेल लाजियोले ३–० ले जित्यो ।

अब यो जितसँगै लाजियोले १८ खेलबाट ३१ अंक जोडेर एक स्थान सुधार गर्दै सातौं स्थानमा चढेको छ । पराजित रोमा १८ खेलपछि ३४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । यदि यो खेल जितेको भए रोमाले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गर्ने अवसर थियो ।

प्रकाशित मिति ३ माघ २०७७, शनिबार १०:०६
Loading...