‘यसपटक ला लिगामा अरूलाई नो चान्स’

एजेन्सी, माघ २
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका खेलाडी साउल निगुएजले यसपटक ला लिगा आफूहरूले जित्ने दाबी गरेका छन् । क्लबको अफिसियल मिडियासँग कुरा गर्दै उनले यसपटक ला लिगामा अरूलाई ‘चान्स’ नरहेको बताएका छन् । उनले एथ्लेटिको यसपटक उपाधि जित्न सही दिशा र गतिमा रहेको बताएका छन् ।

‘सिजन अझै लामो छ । भर्खर आधा खेल सकिएका छन् । आगामी दिनहरूमा जे पनि हुनसक्छ । हामी बढी उत्साहित छैनौं,’ साउलले भनेका छन्, ‘तर मलाई लाग्छ कि, हामी यसपटक लिग च्याम्पियन बन्न एकदमै सही दिशामा छौं । हामी यहाँसम्म जसरी आएका छौं, त्यो सजिलो थिएन । र, अबको बाटो पनि सजिलो छैन । तर, हामी यसपटक च्याम्पियन बन्न चाहन्छौं । टिम त्यसका लागि सबै हिसाबले तयार छ ।’

साउलले ठट्टा गर्दै यसपटक ला लिगामा अरू टिमलाई चान्स नरहेको बताएका छन् । ‘यहाँ २० वटै टिम जित्नका लागि खेल्छन् । शीर्ष तीनमा रहेका टिम र तल रहेका ३ टिम पनि जित्नकै लागि खेल्छन्,’ साउलले भनेका छन्, ‘तर, मैले अघि नै भनें नि, यो समय हाम्रा लागि हो । मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने लिगमा यसपटक अरूका लागि नो चान्स । तर, हामी शान्त भएर हरेक खेलमा सोचीसम्झी अघि बढ्नुपर्छ ।’

ला लिगामा ताजा स्थितिमा एथ्लेटिको १६ खेलपछि ४१ अंक बनाएर शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडले १८ खेलबाट ३७ अंक बनाएको छ । एथ्लेटिको अहिले २ खेल बढी खेलेको रियलभन्दा ४ र तेस्रो स्थानको बार्सिलोनाभन्दा ७ अंकले अघि छ ।

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार २१:३३
Loading...