सुपर कपको फाइनल पुग्न आज रियल मड्रिड र बिल्बाओ भिड्दै

काठमाडौं, माघ १
स्पेनिस सुपर कप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज रियल मड्रिड र एथ्लेटिक बिल्बाओको खेल हुँदैछ । गत राति पहिलो सेमिफाइनल खेलबाट रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरिसकेको छ । आज रातिको खेलबाट रियल र बिल्बाओ एकअर्कालाई हराएर फाइनल पुग्ने दाउमा छन् ।

रियल र बिल्बाओबीच हुने खेल मालागाको टिम ‘बी’ को घरेलु मैदानमा नेपाली समयनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । हाल ला लिगामा यी दुई टोलीमध्ये रियल १८ खेलपछि ३७ अंकका साथ दोस्रो स्थानमा छ भने बिल्बाओ १८ खेलपछि २१ अंकका साथ १२औं स्थानमा छ । रियल र बिल्बाओ अन्तिमपटक ला लिगामा केही समयअघि डिसेम्बर १६ मा भिडेका थिए, जसमा रियलले बिल्बाओलाई ३–१ ले हराएको थियो ।

रियल र बिल्बाओ दुवै ला लिगामा बलिया टोली भएकाले आजको खेल महत्त्वपूर्ण हुनेछ । रियल आजको खेल जितेर सिजनको पहिलो उपाधि नजिक पुग्न चाहन्छ । रियल फाइनल पुग्न सके कपको उपाधि भिडन्तमा उसले आफ्नो कट्टर प्रतिस्पर्धी बार्सिलोनासँग भिडन्त गर्नेछ ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार १२:२३
Loading...