मार्सेइल्लीलाई हराउँदै पिएसजीले जित्यो उपाधि

काठमाडौं, माघ १
फ्रेन्च क्लब पिएसजीले सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो उपाधि जितेको छ । उसले लिग वान प्रतिस्पर्धी मार्सेइल्लीलाई हराउँदै सुपर कपको उपाधि जितेको हो । यस प्रतियोगिताको अफिसियल नाम भने ट्रफी डेज च्याम्पियन्स हो ।

नेपाली समयअनुसार बिहीबार बिहान भएको उपाधि भिडन्तमा पिएसजीले मार्सेइल्लीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । पिएसजीलाई उपाधि जिताउन माउरो इकार्डी र नेइमारले १–१ गोल गरे । यससँगै नयाँ प्रशिक्षक मोउरिसियो पोचेटिनोले टोली सम्हालेको एक साता पनि नबित्दै उपाधि जित्न सफल भएका छन् ।

पिएसजीका लागि खेलको ३९औं मिनेटमा इकार्डीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत् दोस्रो गोल गरेपछि पिएसजी सहज जिततर्फ अघि बढेको थियो । तर, ८९औं मिनेटमा मार्सेइल्लीका डिमिट्री पाएटले गोल गरेपछि पिएसजीको जित २–१ मा खुम्चियो ।

नेइमार लामो समयपछि चोटमुक्त हुँदै मैदान फर्किएको खेलमा १ गोल गर्दै आफ्नो पुनरागमन गरेका छन् । मैदान फर्किएको पहिलो दिन नै उनले गोल गरेर टिमलाई उपाधि जिताउन पनि सघाए ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार ०५:१२
Loading...