बार्यन म्युनिख जर्मन कपबाट आउट : दोस्रो डिभिजनको टिमले बनायो सिकार !

काठमाडौं, माघ १
गत सिजन ह्याट्रिक उपाधि जितेको बार्यन म्युनिख यस सिजन पहिलो नकआउट जर्मन कप फुटबलको प्रतियोगिताबाट आउट भएको छ । दोस्रो राउन्डको खेलमा बार्यनलाई दोस्रो डिभिजनको क्लब होलस्टेन किएलले पेनाल्टी सुटआउटमा ६–५ ले स्तब्ध बनाउँदै उपाधि होडबाट बाहिर पठाएको हो ।

नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा साबिक च्याम्पियन बार्यनले उपाधि यात्रा जोगाउन सकेन । पहिलो रोजाइका खेलाडीसहित खेलेको बार्यन पेनाल्टी सुटआउटको सडन डेथमा स्तब्ध बन्यो । निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ होलस्टेनले बार्यनलाई सडन डेथमा ६–५ ले सिकार बनायो ।

पेनाल्टी सुटआउटमा होलस्टेन र बार्यनका सुरुआती ५–५ जना सबैले गोल गरेपछि खेल ५–५ मा पुग्यो । त्यसपछि पेनाल्टी सडन डेथमा पुग्यो, जहाँ बार्यनका लागि छैटौं पेनाल्टी प्रहार गरेका मार्क रोका पेनाल्टीमा चुके । त्यसपछि होलस्टेनका फिन बार्टेल्सले छैटौं पेनाल्टीमा गोल गर्दै बार्यनलाई स्तब्ध बनाउँदै टिमलाई ६–५ को जित दिलाए ।

पेनाल्टीअघि १२० मिनेट चलेको खेलमा बार्यनले सुरुआती गोल गरेको थियो । १४औं मिनेटमा सेर्गे गेनाब्रीले गोल गरेर बार्यनलाई अग्रता दिलाका थिए । त्यसपछि ३७औं मिनेटमा होलस्टेनका लागि फिट बार्टेल्सले गोल गरेर खेल १–१ बनाए ।

दोस्रो हाफ सुरु भएको २ मिनेटमै बार्यनका लागि लिरोए सानेले गोल गर्दै टिमलाई १–२ को अग्रता दिलाए । बायर्नन सोही अग्रता लिएर जितनजिक पुगेको थियो । तर, ९० मिनेटपछि थपिएको समयको पाँचौं मिनेटमा होलस्टेनका लागि हाउके ह्वालले गोल गरेपछि खेल २–२ मा सकियो । र, थप ३० मिनेट थपियो । थप समयमा पनि बार्यनले गोल गरेर खेल जित्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जहाँ बार्यन निराश बन्यो ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार ०४:५९
Loading...