बार्सिलोना सुपर कपको फाइनलमा : टर स्टेगेन बने नायक !

काठमाडौं, माघ १
कप्तान लिओनल मेस्सीबिनाको बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको सेमिफाइनल खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । बार्सिलोनालाई फाइनलको बाटो देखाउन गोलकिपर मार्क आन्द्रे टर स्टेगेन नायक बने । उनले खेलभरि ६ पटक शानदार बचाउ मात्रै गरेनन्, पेनाल्टी सुटआउटमा लगातार दुई पेनाल्टी रोकेर बार्सिलोनाका लागि जितको आधार बनाएका थिए ।

निर्धारित ९० मिनेट र त्यसपछि थप भएको ३० मिनेट समेत गरी १२० मिनेटको समयमा पनि खेलमा हारजित नभएपछि खेल पेनाल्टीसम्म पुगेको थियो । निकै प्रतिस्र्धात्मक खेलमा बार्सिलोनाका लागि खेलको ३९औं मिनेटमा फ्रेन्की डे जोङले अपत्यारियालो तरिकाले हेडिङमार्फत् गोल गरेका थिए । उनको गोलमा एन्टोनी ग्रीजम्यानले असिस्ट गरेका थिए ।

तर, दोस्रो हाफमा सोसिडाड चाँडै खेलमा फर्कियो । यसपटक बक्समा गोलकर्ता डे जोङले नै ह्यान्ड बल गरेपछि रेफ्रीले सोसिडाडलाई पेनाल्टी दिए, जसमा सोसिडाडका कप्तान मिकेल ओयारजबालले गोल गर्दै खेल १–१ बनाए । तर, त्यसपछि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा बार्सिलोनाका २ जनाले पेनाल्टी मिस गरे भने सोसिडाडका सुरुआती ३ खेलाडीले लगातार पेनाल्टी मिस गरेका थिए । रियल सोसिडाडका लागि जोन बाउटिस्टाले प्रहार गरेको पहिलो पेनाल्टी बार्सिलोनाका गोलकिपरले रोके । त्यसपछि बार्सिलोनाका फ्रेन्की डे जोङको प्रहार पोलमा लागेर फर्कियो ।

त्यसपछि सोसिडाडका कप्तान ओयारजबालको पेनाल्टी पनि बार्सिलोनाका गोलकिपरले रोके । र, बार्सिलोनाका दोस्रो नम्बरमा आएका उसामान डेम्बेलेको गोको प्रहार गोलमा परिणत भयो । त्यसपछि तेस्रो स्थानमा पेनाल्टी प्रहार गर्न आएका सोसिडाका विलियम जोसेको प्रहार पोलमा लागेर बाहिरियो । त्यसपछि बार्सिलोनाका मिरालेम पियानिचले गोल गर्न गर्दा बार्सिलोना २–० ले अघि थियो ।

त्यसपछि सोसिडाका लागि चौथो पेनाल्टीमा मिकल मेरिनोले गोल गर्न सफल भए । तर, बार्सिलोनाका लागि चौथो पेनाल्टी प्रहार गर्न आएका एन्टोनी ग्रीजम्यानको प्रहार पोलभन्दा निकै माथिबाट आकाशतिर उडेपछि बार्सिलोनाले जितका लागि अन्तिम पेनाल्टीसम्म पर्खिनु परेको थियो ।

सोसिडाडका लागि पाँचौं पेनाल्टीमा अडान जानुआजले गोल गरेपछि खेल २–२ भयो । तर, बार्सिलोनाका लागि अन्तिम पेनाल्टी प्रहार गर्न आएका रिकी पुचले गोल गरेपछि खेल बार्सिलोनाले ३–२ ले जित्यो ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार ०४:३३
Loading...