अतिरिक्त समयमा जित निकाल्दै युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं, माघ १
युभेन्टस इटालियन नकआउट क्लब फुटबल कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा युभेन्टसले सिरी ए टोली जेनोआमाथि अतिरिक्त समयमा ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

आफ्नो घरेलु मैदानमा युभेन्टसले खेलको २३औं मिनेटमा पुग्दा २–० को सहज अग्रता लिए पनि त्यसपछि २ गोल खाएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, थप समयमा युभेन्टसले नतिजा आफ्नो पक्षमा निकाल्न सफल भयो ।

युभेन्टसका लागि खेल सुरु भएको दोस्रो मिनेटमै डेजान सुलुसेभ्सकीले पहिलो गोल गरेका थिए । त्यसपछि २३औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्टसले खेलमा २–० को अग्रता बनायो । तर, त्यसपछि युभेन्टसले २ गोल खायो । २८औं मिनेटमा लेनार्ट चेकबोर्राले पहिलो गोल गरेर खेल २–१ बनाए भने ७४औं मिनेटमा फिलिपो मेलेगोनीले लामो दूरीबाट दर्शनीय गोल गरेर खेल २–२ बनाए ।

त्यसपछि बाँकी समयमा गोल नभएपछि निर्धारित समयको खेल २–२ मा टुंगिँदा खेल ३० मिनेटको थप समयमा गयो । थप समयको पहिलो हाफ चलिरहँदा खेलको १०४औं मिनेटमा सब्सिच्युट युवा खेलाडी हाम्जा राफियाले बक्स भित्रबाट गोल गरेर युभेन्टसको जित पक्का गरे । ८८औं मिनेटमा मैदान छिरेका क्रिस्टियानो रोनाल्डोले बक्समा जेनोआका ३ जना डिफेन्डरलाई छलाउँदै चलाखीपूर्वक दिएको बललाई मोराटाले क्रस गर्दै राफियालाई असिस्ट दिएका थिए, जसमा उनले टिमका लागि विजयी गोल गरे ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार ०४:०१
Loading...