समस्यामा बार्सिलोना : मेस्सीले आज राति हुने सुपर कपको सेमिफाइनल नखेल्ने

काठमाडौं, पुस २९
स्पेनिस सुपर कप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज राति बार्सिलोना र रियल सोसिडाड खेल्दैछन् । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । सो खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी नखेल्ने भएका छन् । चोटका कारण उनले यो खेल खेल्न नसक्ने पक्का भएको खबर स्पेनिस मिडियाले छापेका छन् ।

मेस्सीको तिघ्राको मांशपेसीमा सामान्य चोट भए पनि मेस्सीले शतप्रतिशत फिट अनुभूत नगरेकाले उनलाई आज रातिको खेलमा नखेलाइने भएको हो । खेलको केही घन्टाअघि बार्सिलोनाको मेडिकल टिमले मेस्सीको स्वास्थ्य जाँच गरेको थियो ।

शनिबार ला लिगामा अवे मैदानमा ग्रनाडाविरुद्ध खेल्नेक्रममा मेस्सी घाइते भएका थिए । खेल्न कठिन भएपछि उनले ६५औं मिनेटमा मैदान छाडेका थिए । त्यसबेला मेस्सीको चोट खास नभएको बताइएको थियो । तर, उनको फिटनेसमा अझैसम्म समस्या रहेको पाइएको छ ।

अब सोसिडाडविरुद्ध मेस्सीबिना उत्रिँदा बार्सिलोना चर्को दबाबमा हुनेछ । सो खेलको विजेता टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिम आउट हुनेछ । मेस्सीबिना बार्सिलोनालाई अब सोसिडाडको सामना गर्न कठिन पर्न सक्छ । मेस्सी नहुँदा प्रशिक्षक रोनाल्ड कोम्यानले फ्रन्ट लाइनमा एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेलेसँग मार्टिन ब्रेथवेट र ट्रिनकाओमध्ये एकलाई सुरुआती टोलीमा उतार्नेछन् । यदि बार्सिलोना सोसिडाडलाई हराएर फाइनल पुगे मेस्सी फाइनल खेल खेल्न उपलब्ध हुनेछन् ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार २२:४९
Loading...