उपाधिका लागि पिएसजी र मार्सेइल्ली भिड्ने : नेइमार मैदान फर्किंदै

काठमाडौं, पुस २९
फ्रान्सको सुपर कप फुटबल प्रतियोगितामा आज राति उपाधि भिडन्त हुँदैछ । सिजन २०२०–२१ अन्तर्गत सुपर कपको उपाधिका लागि लिग वानका प्रतिस्पर्धी पिएसजी र मार्सेइली आज राति आमनेसामने हुँदैछन् । यो प्रतियोगिताको अफिसियल नाम ‘ट्रफी डेज च्याम्पियन्स’ हो । युरोपमा अन्य देशमा भने यस्तै प्रतियोगितालाई सुपर कप नामले चिनिन्छ ।

सुपर कप फ्रेन्च फुटबल संघले वार्षिक कार्यक्रमअनुसार आयोजना गर्ने प्रतियोगिता हो । यस प्रतियोगितामा गत सिनजको लिग वानको च्याम्पियन र नकआउट फ्रेन्च कपको च्याम्पियनले प्रतिस्पर्धा गर्ने गर्छन् । यसपटक सुपर कपको उपाधिका लागि पिएसजी र मार्सेइल्ली भिड्न लागेका हुन् । उपाधि भिडन्त नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

पिएसजीका प्रमुख खेलाडी नेइमार आज राति यसै खेलबाट मैदान फर्किने तयारीमा छन् । केही समयदेखि चोटका कारण टोलीबाहिर रहेका उनी चोटमुक्त हुँदै मैदान फर्किन लागेका हुन् । नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोले नेइमारलाई प्रारम्भिक टोलीमा समावेश गरेका छन् । यदि आज राति नेइमारले खेले उनका लागि पोचेटिनोको नेतृत्वमा पहिलो खेल हुनेछ ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार २०:१९
Loading...