लिभरपुललाई उछिन्दै युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, पुस २९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ । गत राति भएको लिगको १७औं साताको खेलमा युनाइटेडले बर्नलीलाई उसकै घरेलु मैदानमा ०–१ ले हराउँदै युनाइटेडले महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यो जितसँगै युनाइटेडले साबिक च्याम्पियन लिभरपुललाई अंक तालिकामा स्पष्ट अन्तरमा पछि पारेको छ । र, आफू उपाधि होडमा दाबेदारीका साथ अघि बेढेको छ । सम्भवतः युनाइटेडका लागि गत रातिको जित उपाधि होडमा निकै महत्त्वपूर्ण हुनेछ ।

निकै प्रतिस्पर्धात्मक खेलमा युनाइटेडलाई जिताउन खेलको ७१औं मिनेटमा पाउल पोग्बाले गरेको १ मात्रै गोल निर्णाय बन्यो । मार्कुस राफोर्डको पासमा पोग्बाले भली प्रहारमा निकै उत्कृष्ट गोल गरेका थिए । अन्ततः त्यही गोलले युनाइटेडलाई ०–१ को साँघुरो जित दिलायो । खेलमा ह्यारी मागुइरेले गरेको एक सुन्दर हेडिङ गोल रद्द भएको थियो ।

अब यो जितपछि युनाइटेडले १७ खेलबाट ३६ अंक बनाएर शीर्ष स्थानमा चढेको छ । समान खेल खेलेको लिभरपुल ३३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । युनाइटेडलाई अहिले सिरानमा ३ अंकको सुविधाजनक अग्रता छ । पराजित बर्नली १६ खेलपछि १६ अंकका साथ १६औं स्थानमा छ ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ०८:०७
Loading...