सेभिल्लामाथि एथ्लेटिको मड्रिडको सहज जित : शीर्ष स्थानमा अग्रता बढायो

काठमाडौं, पुस २९
स्पेनिस ला लिगा फुटबलमा उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । गत राति भएको खेलमा उसले लिगको अर्को बलियो टोली सेभिल्लालाई २–० ले स्तब्ध बनायो । आफ्नो घरेलु मैदानमा महत्त्वपूर्ण जित निकालेसँगै एथ्लेटिकोले उपाधि होडमा अग्रता बढाएको छ । उसको यो जितले दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई कठिनाइ बढेको छ ।

एथ्लेटिकोलाई जिताउनेक्रममा खेलको १७औं मिनेटमा पहिलो गोल एन्जल कोरेरियाले गरेका थिए । सोही गोलको अग्रता लिएर एथ्लेटिको जिततर्फ अघि बढेको थियो । खेलमा फर्किन संघर्षरत सेभिल्ला त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला एथ्लेटिकोले दोस्रो गोल हान्यो । खेलको ७६औं मिनेटमा साउलले टिमका लागि दोस्रो गोल गरेपछि खेल एथ्लेटिकोले २–० ले जित्यो ।

अब यो जितपछि एथ्लेटिकोले १६ खेलबाट ४१ अंक जोडेको छ । उसले दोस्रो स्थानको रियल मड्रिडभन्दा २ खेल कम खेलेको अवस्थामा पनि शीर्ष स्थानमा अहिले नै ४ अंक र तेस्रो स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि पारेको छ । यदि बाँकी दुवै खेल जिते एथ्लेटिको समान खेलपछि रियलभन्दा १० र बार्सिलोनाभन्दा १३ अंकले अघि हुनेछ । यता, पराजित सेभिल्ला १७ खेलपछि ३० अंकका साथ छैटौं स्थानमै छ ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ०७:३२
Loading...