ला लिगामा आज दुई खेल : एथ्लेटिको मड्रिड–सेभिल्ला आजै भिड्ने

काठमाडौं, पुस २८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति दुई खेलहरू हुँदैछन् । यसअघि सिजनको सुरुआतमै हुनुपर्ने दुई खेल आज रातिका लागि तय भएका छन् । आज हुने खेलमध्ये एक खेलमा लिग लिडर एथ्लेटिको मड्रिड र छैटौं स्थानको सेभिल्ला आमनेसामने हुँदैछन् । यो खेल एथ्लेटिकोको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक २ः१५ बजेबाट सुरु हुनेछ ।

हाल एथ्लेटिको १५ खेलपछि ३८ अंकका साथ शीर्ष स्थानमा छ । ऊ १८ खेल खेलेको दोस्रो स्थानको रियल मड्रिडभन्दा १ र १८ नै खेल खेलेको तेस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकले अघि रहेको छ । आज राति लिगको एक बलियो टोलीविरुद्ध आफ्नो मैदानमा खेल्दा एथ्लेटकोले स्पष्ट जित निकाले उसले रियललाई ४ र बार्सिलोनालाई ७ अंकले पछि पार्नेछ ।

उपाधि होडमा अग्रता बढाउन एथ्लेटिकोका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । पछिल्लो ४ खेलमा लगातार जित निकालेको एथ्लेटिको आज पछिल्ला ५ खेलमा अपराजित रहेको सेभिल्लाविरुद्ध आफ्नो मैदानमा उत्रिँदा ३ अंक जोडेर उपाधि होडमा थप पकड जमाउने दाउमा हुनेछ ।

यता, आज हुने अर्को खेलमा ग्रानाडा र ओसासुना भिड्दैछन् । यो खेल ग्रानाडाको मैदानमा राति ११ः१५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा ग्रानाडा २४ अंकसहित सातौं स्थानमा रहँदा ओसासुना १५ अंकसहित १९औं स्थानमा छ ।

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार १५:३१
Loading...