दुर्लभ रेकर्डसँग बराबरी : अब रोनाल्डो र बिकान इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौं, पुस २७
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासकै सर्वाधिक अफिसियल गोलको रेकर्डसँग बराबरी गरेका छन् । गत राति सिरी ए लिग अन्तर्गत युभेन्टसले आफ्नो घरेलु मैदानमा सासुओलोलाई ३–१ ले हराउनेक्रममा १ गोल गरेसँगै रोनाल्डोको कूल अफिसियल गोल संख्या ७५९ पुगेको छ, जुन कीर्तिमानी हो ।

यसअघि लिजेन्ड जोसेफ बिकानका नाममा इतिहासकै सर्वाधिक अफिसियल गोलको रेकर्ड थियो । दिवंगत बिकानले आफ्नो करिअर दौरान कूल ७५९ अफिसियल गोल गरेका थिए, जुन आजसम्म कसैले पनि तोड्न सकेको थिएन । तर, पाँचपटकका बालोन डिओर विजेता रोनाल्डोले बिकानको रेकर्डसँग बराबरी गरेका छन् ।

अब फुटबल इतिहासमा सर्वाधिक अफिसियल गोल गर्ने खेलाडीको रेकर्ड संयुक्त रूपमा बिकान र रोनाल्डोका नाममा रहनेछ । ताजा स्थितिमा दुवैका नाममा समान ७५९–७५९ गोल रहेको छ ।

गत राति रोनाल्डोले युभेन्टसलाई ३–१ ले जिताउनेक्रममा खेलको इन्जुरी समयमा गोल गरेका थिए, जुन उनका लागि करिअरको ७५९औं अफिसियल गोल थियो । अब रोनाल्डोलाई बिकानको गोल रेकर्ड तोडेर एकल रूपमा आफ्नो नाममा लेखाउन थप १ गोल आवश्यक छ । रोनाल्डोले आगामी खेलमा १ गोल गरे उनी फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बन्नेछन् ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार १२:३९
Loading...