१० खेलाडीमा सीमित सासुओलोमाथि युभेन्टसको संघर्षपूर्ण जित

काठमाडौं, पुस २७
इटालियन सिरी ए लिग फुटबलमा युभेन्टसले उपाधि होडमा रहेको सासुओलोलाई हराएको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको १६औं साताको खेलमा युभेन्टसले १० खेलाडीमा सीमित सासुओलोमाथि ३–१ को जित निकाल्न सफल भयो । घरेलु मैदानमा युभेन्टसलाई जितका लागि ठूलै संघर्ष गर्नुपरेको थियो । एलिनाज रंगशालामा भएको खेलमा युभेन्टसलाई जिताउन ड्यानिलो, आरोन राम्से र क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे ।

पाहुना टोली सासुओलोका मिडफिल्डर पेड्रो ओबिङ पहिलो हाफको थप समयमा सोझै रातो कार्ड पाएर मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो । फेडरिको किइजामाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । तर, एक खेलाडी कम भइकन पनि सासुओलोले दोस्रो हाफमा युभेन्टसलाई निकै कठिनाइमा पारेको थियो ।

खेलमा भएका ४ वटै गोल दोस्रो हाफमा भए । खेलको ५०औं मिनेटमा ब्राजिलियन डिफेन्डर ड्यानिलोले बक्स बाहिरबाट शक्तिशाली सटमा खतरनाक गोल गरे । उनले लो सटमा हानेको शक्तिशाली प्रहारले डिफेन्डरको भिड छिचोल्दै सोझै जाली चुमेको थियो । तर, युभेन्टसको अग्रता धेरैबेर टिकेन । खेलको ५८औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गरेर खेल १–१ बनाए । त्यसपछि युभेन्टसलाई विजयी गोलका लागि ठूलै संघर्ष गर्नुपरेको थियो । कडा संघर्षपछि खेलको ८२औं मिनेटमा आरोन राम्सेले बक्स भित्रबाट स्लाइड टचमा बललाई जाली चुमाउँदै टिमलाई जितको बाटो देखाएका थिए ।

त्यसपछि थप समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को सुन्दर गोल गरेपछि युभेन्टले ३–१ ले जित पक्का गरेको थियो । ड्यानिलोले लामो दूरीबाट दिएको पास रोनाल्डोले निकै आकर्षक ढंगले नियन्त्रणमा लिएर सासुओलोका डिफेन्डरका माझबाट लो सटमा बललाई जाली चुमाएका थिए । रोनाल्डोका लागि यो सिजनको १५औं लिग गोल थियो ।

अब यो जितपछि युभेन्टस १६ खेलबाट ३३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा चढेको छ । युभेन्टस अझै पनि एक खेल बढी खेलको एसी मिलानभन्दा ७ अंकले पछि नै छ । पराजित सासुओलो १७ खेलछि २९ अंकका साथ सातौं स्थानमा छ ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार ०३:४२
Loading...