ओसासुनासँग रोकिएपछि ला लिगासँग रिसाए जिदान : खेलपछि यसो भने

एजेन्सी, पुस २६
स्पेनिस ला लिगा फुटबलमा गत राति रियल मड्रिड १९औं स्थानको ओसासुनासँग ०–० को बराबरीमा रोकियो । महत्त्वपूर्ण खेलमा रियलले अंक गुमाउँदा उसको उपाधि होड निकै कमजोर बनेको छ । सो खेलमा रियलका फरवार्ड करिम बेन्जेमाले १ गोल गरे पनि मान्यता नपाउँदा रियल निराश बनेको थियो ।

खेलपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले भने ला लिगाप्रति असन्तुष्टि जनाए । उनले खराब मौसम र वातावरणबीच लिगले खेल स्थगित नगर्नु आपत्तिजनक रहेको बताए । बाक्लो हिमपात र आँधीबीच खेल्न नसकिने अवस्थामा खेलाडीले जबर्जस्त खेल पूरा गरेको जिदानले बताए । ओसासुनाको घरेलु रंगशालामा लगातार हिमपात र चिसो आँधी चलिरहे पनि खेल खेलाइएको थियो ।

गत राति नै तय भएको एथ्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको खेल पनि हिमपातकै कारण रोकिएको थियो । तर, सोही अवस्थामा रियलको खेल भने खेलाइयो । ओसासुना र रियलको खेलभन्दा ३० मिनेटअघि मैदानमा जमेको हिउँ फालिएको थियो । खेल चलिरहँदा मैदानभरि हिउँको तह नै जमेको थियो । पहिलो हाफ सकिएपछि पुनः कर्मचारीले मैदानको हिउँ उठाएर फालेका थिए । लगाताको बाक्लो हिमपातका कारण खेलाडीलाई खेल्न निकै कठिन भइरहेको स्पष्टै देख्न सकिन्थ्यो ।

खेलपछि जिदानले मैदानको अवस्था र मौसमलाई लिएर ला लिगाप्रति प्रश्न गरे । फुटबल खेल्नै नसकिने अवस्थामा लिगले खेल स्थगित नगर्नु बेवास्तापूर्ण व्यवहार भएको जिदानले बताए । जिदानले त ओसासुनाविरुद्धको खेल फुटबल नभएर हिउँ खेलाइ रहेको बताए । ‘खासमा यो फुटबल खेल थिएन, यो त हिउँ खेलाइ थियो । हाम्रो विचारमा यो खेल स्थगित हुनुपर्ने थियो । तर, अब जे हुनु भइसक्यो,’ जिदानले भनेका छन्, ‘हामी सबैलाई लागेको मैदानको अवस्था खेल खेल्नयोग्य थिएन । यो मैले पटक–पटक भरिनराख्नु पर्दैन । यस्तो मैदानमा खेल्दा खेल मात्रै प्रभावित हुँदैन, खेलाडीलाई समेत खतरा हुन्छ ।’

स्पेनिस मिडियाका अनुसार रियल मड्रिडको टोली खेलअघि ओसासुनाको मैदान जानेक्रममा मौसमकै कारण ४ घन्टासम्म विमानस्थलमा रोकिनु परेको थियो । लगातार हिमपात भएपछि रियलका खेलाडी निर्धारित समयभन्दा करिब ५ घन्टा ढिला गरी पाम्प्लोना पुगेका थिए । ओसासुनासँगको खेल सकिए पनि रियल तत्कालै मड्रिड फर्किन पाएन । खराब मौसमकै कारण फर्किन ढिला हुने जिदानले बताए ।

‘हामी यहाँ ठूलो कष्ट र मेहनतले आइपुग्यौं । मैदानमा जसोतसो खेल त खेल्यौं । तर, हामी कहिले फर्किने टुंगो छैन । खासमा हामी यहाँ आउनुनपर्ने थियो । यो खेल स्थगित गर्न सकिन्थ्यो । तर, लिगले अवस्थाप्रति गम्भीर नबन्दा हामीले जोखिमबीच खेल्यौं,’ जिदानले भने ।

गत रातिको बराबरीपछि रियल १८ खेलबाट ३७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । तर, बराबरीपछि रियलले लिग लिडर एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाउने अवसर गुमायो भने बार्सिलोनासँगको दूरी बढाउन पाएन । ताजा स्थितिमा १५ खेल खेलेको एथ्लेटिको ३८ अंकसहित शीर्ष स्थानमा रहँदा १८ खेल खेलेको रियल ३७ अंकसहित दोस्रो तथा १८ नै खेल खेलेको बार्सिलोना ३४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार २०:५५
Loading...