आज छैटौं स्थानको सासुओलो र पाँचौं स्थानको युभेन्टस भिड्दै

काठमाडौं, पुस २६
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज केही ठूला खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा साबिक विजेता युभेन्टस र सासुओलो आमनेसामने हुँदैछन् । यो खेलका लागि पाँचौं स्थानको युभेन्टसले छैटौं स्थानको सासुओलोलाई आफ्नो घरमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा युभेन्टस १५ खेलबाट ३० अंक जोडेर पाँचौं स्थानमा रहँदा एक खेल बढी खेलेको सासुओलो २९ अंकका साथ छैटौं स्थानमा छ । यो सिजन युभेन्टसले हालसम्म एक खेल हार्दा सासुओलोले ३ खेल हारेको छ ।

यो सिजन कमजोर स्थितिमा अघि बढिरहेको युभेन्टस आज आफ्नो घरमा खेल्दा चर्को दबाबमा हुनेछ । अंक तालिकामा सुधार गर्न उसलाई एलिनाज रंगशालामा एक बलियो टोलीविरुद्ध स्पष्ट जितको आवश्यकता पर्नेछ । आज ३ अंक जोड्न सके युभेन्टस ३३ अंकका साथ तेस्रो स्थानमा चढ्नेछ । तर, त्यसभन्दा अघि आजै हुने रोमा र इन्टर मिलानको खेलको नतिजाले पनि अंक तालिकालाई प्रभाव पार्नेछ ।

यसअघि युभेन्टसले लिग लिडर एसी मिलानलाई उसकै घरेलु मैदानमा १–३ ले हराएको थियो । हाल शीर्ष टोली मिलानभन्दा ठीक १० अंकले पछि परेको अवस्थामा युभेन्टसले बाँकी २ वटै खेल जितेर मिलानसँग अंक दूरी ४ मा झार्नेछ । उपाधि होड कायमै राख्न युभेन्टसलाई आजको जित अतिआवश्यक छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार १६:३५
Loading...