मेस्सी इज ब्याक : ला लिगाको एकल सर्वाधिक गोलकर्तामा चढे

काठमाडौं, पुस २६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सी आफ्नो ‘ओर्जिनल भर्सन’ मा फर्किएका छन् । पछिल्ला दुई खेलमा २–२ गोल अर्थात् २ खेलबाट ४ गोल गर्दै मेस्सीले आफू बेस्ट फर्ममा फर्किएको सन्देश दिएका छन् । गत राति बार्सिलोनाले सातौं स्थानको ग्रानाडालाई उसकै घरेलु मैदानमा ०–४ ले हराउँदा मेस्सीले १ फ्रि किक गोलसहित २ गोल गरेका थिए ।

गत रातिको २ गोलसँगै मेस्सी अब ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा पनि चढेका छन् । पछिल्ला २ खेलबाट ४ गोल गरेपछि मेस्सी कूल ११ गोलसहित एकल रूपमा सर्वाधिक गोलकर्ता बनेका हुन् । केही साताअघिसम्म सर्वाधिक गोलकर्ताको सूचीमा टप–१० मा पनि नरहेका मेस्सी पछिल्ला खेलबाट लगातार गोल गर्दै गोल चार्टमा छलाङ मारेका हुन् ।

ताजा स्थितिमा मेस्सी कूल ११ गोलसहित लिगको सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन् । उनले भिल्लारियलका जेरार्ड मोरेनोलाई १ गोलले पछि पार्दै शीर्ष स्थानमा चढेका हुन् । मेस्सीले लिगमा १७ खेलबाट ११ गोल र २ असिस्ट गरेका छन् । दोस्रो स्थानका मोरेनोले १६ खेलबाट १० गोल र २ असिस्ट गरेका छन् ।

यस्तो छ सर्वाधिक गोलकर्ताको ताजा सूची–

१. लिओनल मेस्सी – ११ गोल (१७ खेल)
२. जेरोर्ड मोरेनो – १० गोल (१६ खेल)
३. इयागो आसपास – ९ गोल (१७ खेल)
४. लुइस स्वारेज – ९ गोल (१२ खेल)
५. करिम बेन्जेमा – ८ गोल (१६ खेल)

प्रकाशित मिति २६ पुष २०७७, आईतवार १०:४९
Loading...