शीर्ष स्थानमा एसी मिलानलाई सहज अग्रता : युभेन्टस १० अंकले पछि !

काठमाडौं, पुस २६
इटालियन सिरी ए लिग फुटबलमा यो सिजन उत्कृष्ट लयमा रहेको एसी मिलानले शीर्ष स्थानमा ४ अंकको सहज अग्रता बनाएको छ । गत राति भएको लिगको १७औं साताको खेलमा एसी मिलानले आफ्नो घरेलु मैदानमा पाहुना टोली टोरिनोलाई २–० ले हरायो । यो जितपछि एसी मिलानले एक खेल कम खेलेको इन्टर मिलानलाई ४ अंकले पछि छाडेको छ । यता, २ खेल कम खेलेको युभेन्टस शीर्ष टोली एसी मिलानभन्दा १० अंकले पछि परेको छ ।

घरेलु मैदान सान सिरो रंगशालामा मिलानलाई जिताउन खेलको २५औं मिनेटमा युवा स्टार राफाएल लिआओले पहिलो गोल गरेका थिए । त्यसपछि ३६औं मिनेटमा फ्रान्क केसाईले पेनाल्टीमार्फत् दोस्रो गोल गरेर खेल २–० बनाए । त्यसपछि बाँकी समयभरि दुवै टोलीबाट थप गोल नहुँदा एसी मिलानले घरमा २–० को सहज नतिजा निकाल्यो ।

अब यो जितपछि मिलानले १७ खेलबाट ४० अंक बनाएको छ । दोस्रो स्थानको इन्टर मिलानको खातामा ३६ अंक छ । उसले एक खेल कम खेलेको छ । पराजित टोरिनो १७ खेलपछि १२ अंकका साथ १९औं स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार ०९:३९
Loading...