रियल १९औं स्थानको टिमसँग निराशाजनक बराबरीमा रोकियो : उपाधि टाढा हुँदै

काठमाडौं, पुस २६
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड निराशाजनक बराबरीमा रोकिएको छ । गत राति भएको खेलमा रियल लिगको १९औं स्थानको ओसासुनासँग उसकै घरमा गोलरहित ०–० को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । यो बराबरीसँगै रियलले अंक तालिकाको शीर्ष स्थानामा चढ्ने मौका मात्रै गुमाएन, उसलाई उपाधि होडमा पनि ठूलै झट्का लागेको छ ।

अवे मैदानमा रियलले इडेन हाजार्ड, सर्जियो रामोस, लुका मोड्रिच, कासेमिरो, करिम बेन्जेमासहितसहितका खेलाडी उतारे पनि अपेक्षित नतिजा निकाल्न सकेन । हिउँ र आँधीमय रंगशालामा रियलले खेलभरिमा जम्मा एकपटक मात्रै अन टार्गेट प्रहार गरेको थियो । रियलले ७१ प्रतिशत बल आफ्नो पकडमा राखे पनि खेलभरि नै गोल निकाल्न नसक्दा ०–० मा रोकिएर अंक बाँड्न बाध्य भयो ।

अब यो बराबरीपछि रियलले अंक तालिकाको शीर्ष स्थानमा चढ्ने मौका मात्रै गुमाएन, एथ्लेटिकोसँग अंक दूरी समेत थप बढ्नेछ । हाल रियलको खातामा १८ खेलबाट ३७ अंक छ । ३ खेल कम खेलेको एथ्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ । यदि एथ्लेटिकोले बाँकी ३ वटै खेल जिते रियल समान खेलपछि ठीक १० अंकले पछि पर्नेछ ।

यता, रियल समान खेलपछि बार्सिलोनाभन्दा ३ अंकले अघि नै छ । बार्सिलोना ३४ अंक बनाएर तेस्रो स्थानमा छ । रियललाई बराबरीमा रोकेको ओसासुना १७ खेलबाट १५ अंकका साथ १९औं स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार ०७:२६
Loading...