हल्यान्ड चम्किँदा डर्टमुन्डले दोस्रो स्थानको लेइपजिगलाई हरायो

काठमाडौं, पुस २६
हालसालै चोटमुक्त हुँदै आएका युवा स्टार अर्लिङ हल्यान्डले दोस्रो हाफमा २ गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन लिग बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लेइपजिगलाई हराएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा चौथो स्थानको डर्टमुन्डले दोस्रो स्थानको लेइपजिगलाई उसकै घरमा १–३ ले हरायो ।

डर्टमुन्डलाई जिताउन हल्यान्डले २ गोल गर्दा जाडोन सान्चोले १ गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पाहुना टोली डर्टमुन्डले खेल आफ्नो हातमा लियो । ५५औं मिनेटमा सान्चोले मार्को रेउसको पासमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७१औं मिनेटमा हल्यान्डले सान्चोको पासमा गोल गरेपछि डर्टमुन्ड जिततर्फ अघि बढेको थियो । फेरि खेलको ८४औं मिनेटमा रेउसकै पासमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरे । तर, खेलको ८९औं मिनेटमा लेइपजिका लागि एलेक्जान्डर सोर्लथले गोल गरेपछि डर्टमुन्डको जित १–३ मा खुम्चियो ।

अब यो जितपछि डर्टमुन्डले १५ खेलबाट २८ अंक बनाएर चौथो स्थानमा यथावत छ । पराजित लेइपजिग अझै पनि समान खेलबाट ३१ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । २९ अंक भएको बायर लेभरकुसेन तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार ०१:२८
Loading...