ग्रानाडामाथि बार्सिलोनाको शानदार जित : चम्किए मेस्सी र ग्रीजम्यान

काठमाडौं, पुस २६
कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रीजम्यान चम्किँदा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सातौं स्थानको ग्रानाडालाई उसकै घरेलु मैदानमा ०–४ को फराकिलो अन्तरमा स्तब्ध बनायो । अवे मैदानमा बार्सिलोनालाई जिताउन मेस्सी र ग्रीजम्यानले २–२ गोल गरे ।

ग्रानाडाको घरेलु मैदानमा बार्सिलोनाले पहिलो हाफमा ०–३ को सहज अग्रता बनाएको थियो । तर, बार्सिलोनाका सुरुआती २ गोल भने विवादित रहे । खेलको १२औं मिनेटमा ग्रीजम्यानले पहिलो गोल गरेका थिए । उनको गोल अफसाइड रहेको अवस्थामा रेफ्रीले मान्यता दिएका थिए । तर, पछि समीक्षा गर्दा सो गोल अफसाइड देखिएको थियो ।

त्यसपछि खेलको ३५औं मिनेटमा कप्तान मेस्सीले एन्टोनी ग्रीजम्यानको पासमा देब्रे खुट्टाले ग्रानाडाका डिफेन्डरका बीचबाट सुन्दर गोल गरेका थिए । सो गोलको मुभमा बार्सिलोनाका सर्जियो बुस्केट्सले स्पष्टै ह्यान्ड बल गरे पनि रेफ्रीले नदेख्दा र भिएआर समेत जाँच गर्न नमानेपछि बार्सिलोनाले सो गोल पायो ।

त्यसपछि खेलको ४२औं मिनेटमा बक्स लाइन नजिकैबाट कप्तान मेस्सीले फ्री किकमार्फत् लो सटमा सोझै गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ०–३ को सहज अग्रता बनायो । दोस्रो हाफमा बार्सिलोनाले १ गोल थप्न सफल भयो । खेलको ६३औं मिनेटमा उसामान डेम्बेलेको पासमा ग्रीजम्यानले बक्स भित्रबाट सुन्दर गोल गरेपछि बार्सिलोना खेलमा ०–४ ले अघि रह्यो ।

खेलको ६५औं मिनेटमा कप्तान मेस्सीलाई सब्सिच्युट गरेर मार्टिन ब्रेथवेटलाई मैदान छिराएपछि मेस्सीको सम्भावित ह्याट्रिक अधुरै रह्यो । यता, ग्रीजम्यानले ह्याट्रिक गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलभरि नै घरेलु टोलीले १ गोल पनि गर्न नसक्दा खेल बार्सिलोनाले ०–४ ले जित्यो ।

अब यो जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक बनाएर तेस्रो स्थानमा चढेको छ । ऊ अझै पनि ३ खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ४ अंकले पछि नै छ । यता, पराजित ग्रानाडा २४ अंकसहित सातौं स्थानमा यथावत छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार ०१:०५
Loading...