रियल सोसिडाडलाई सेभिल्लाले हरायो : नेश्रीले गरे ह्याट्रिक

काठमाडौं, पुस २५
स्पेनिस ला लिगा फुटबलमा पाँचौं स्थानको रियल सोसिडाडलाई छैटौं स्थानको सेभिल्लाले हराएको छ । आज शनिबार राति भएको खेलमा सेभिल्लाले आफ्नो घरेलु मैदानमा पाहुना टोली रियल सोसिडाडलाई ३–२ ले स्तब्ध बनायो । महत्त्वपूर्ण खेलमा सेभिल्लालाई जिताउन युवा स्टार युसेफ इन–नेश्रीले ह्याट्रिक गरे ।

निकै रोमाञ्चक खेल सुरु भएको ७ मिनेटभित्रै ३ गोल भइसकेका थिए । खेलको चौथो मिनेटमा सेभिल्लाका लागि नेश्रीले पहिलो गोल गरेका थिए । लगत्तै पाँचौं मिनेटमा सेभिल्लाकै डिफेन्डर डिएगो कार्लोसले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

तर, आत्मघाती गोल गरेको २ मिनेटमै सेभिल्लाका लागि नेश्रीले नै व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए । दुवै टिमले आक्रामक खेल खेलिरहँदा फेरि १४औं मिनेटमै पाहुना टोली सोसिडाडका लागि एलेक्जान्डर इशाकले गोल गरेर टिमलाई २–२ को बराबरीमा फर्काए ।

त्यसपछि सेभिल्लाका लागि दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै नेश्रीले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेपछि सेभिल्लाले खेलमा अग्रता बनायो । त्यसपछि बाँकी समयभरि दुवै तर्फबाट थप गोल नभएपछि खेल सेभिल्लाले ३–२ ले जित्यो । अब यो जितपछि सेभिल्लाले १६ खेलबाट ३० अंक बनाएर पाँचौं स्थानको सोसिडाडसँग अंक बराबरी गरेको छ । विजयी सेभिल्ला र पराजित सोसिडाडको समान ३०–३० अंक भएको छ । गोलअन्तरमा सोसिडाड अगाडि छ ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार २१:०२
Loading...