अतिरिक्त समयमा गोल गर्दै एभर्टन एफए कपको अर्को चरणमा

काठमाडौं, पुस २५
एभर्टन इंग्लिस नकआउट एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आज भएको तेस्रो चरणको खेलमा एभर्टनले तल्लो डिभिजनको क्लब रोदरह्यामलाई अतिरिक्त समयमा गोल गरेर २–१ को जित निकाल्दै प्रतियोगिताको अर्को चरण प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो, जसमा एभर्टनले बाजी मार्न सफल भयो । आफ्नो घरेलु मैदानमा एभर्टनका लागि खेलको नवौं मिनटमै सेन्क टुसनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि पाहुना टोली ५६औं मिनेटमा खेलमा फर्कियो । मोथेउ ओलोसुन्डेले गोल गरेर खेल १–१ बनाए । त्यसपछि निर्धारित ९० मिनेट र इन्जुरी समयमा पनि दुवै टोलीबाट थप गोल नभएपछि खेल थप समयमा धकेलिएको थियो । जहाँ थप ३० मिनेटको समय सुरु भएको तेस्रो मिनेटमै एब्डोलाए डोकोउरेले हामेस रोड्रिग्वेजको लामो पासमा गोल गरेपछि एभर्टनले २–१ को अग्रता बनायो । त्यसपछि बाँकी समयमा रोदरह्याम खेलमा फर्किन सकेन । र, खेल एभर्टनले २–१ ले जित्यो ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार २०:३७
Loading...