मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘दशककै बेस्ट गोलकर्ता’को अवार्ड

काठमाडौं, पुस २५
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पछिल्लो दशककै बेस्ट गोलकर्ता खेलाडीको अवार्ड जितेका छन् । उनले आफ्ना खास प्रतिस्पर्धी स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका हुन् । ‘इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिसटिक्स’ले सन् २०११–२०२० को अवधि (एक दशक) मा क्लब तथा राष्ट्रिय टोलीका लागि समेत गरी सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूची अघिल्लो दिन घोषणा गरेको छ, जसमा ३६ वर्षका रोनाल्डो पहिलो स्थानमा छन् ।

रोनाल्डोले पछिल्लो दशकमा क्लब तथा राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै ५५० गोल गरेको सूचीमा उल्लेख छ । आयोजक संस्था ‘आईएफएफएचएस’ले दशककै सर्वाधिक गोलकर्ता खेलाडीलाई ‘द वर्ल्डस बेस्ट टप गोल स्कोरर अफ् द डेकेड २०११–२०२०’ अवार्डले सम्मानित गर्नेछ । रोनाल्डोले मेस्सीलाई मात्रै १ गोलले पछि पारेर दशककै बेस्ट गोलकर्तामा उछिनेका हुन् ।

मेस्सीले बार्सिलोना तथा अर्जेन्टिनाका पछिल्लो दशकमा कूल ५४९ गोल गरेको सूचीमा उल्लेख छ । यदि थप १ गोल भएको भए मेस्सीलाई पनि सर्वाधिक गोलकर्ताको हैसियतमा रोनाल्डोसँगै संयुक्त रूपमा अवार्ड दिइन्थ्यो । तर, १ गोल बढी हुँदा रोनाल्डोले एकल रूपमा अवार्डमा बाजी मारे ।

दशकको अन्तिम वर्ष २०२० को अन्तिम महिना डिसेम्बरमा रोनाल्डोले मेस्सीलाई पछि पारेर नम्बर १ गोलकर्ता बनेका हुन् । डिसेम्बर अघिसम्म रोनाल्डोभन्दा मेस्सी अगाडि थिए । त्यसबेला मेस्सीका नाममा ५४६ गोल थियो भने रोनाल्डोका नाममा ५४३ गोल । मेस्सी ३ गोलले अघि थिए ।

तर, डिसेम्बर महिनामा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ७ गोल गरेर मेस्सीलाई पछि पारे । डिसेम्बर महिनामा रोनाल्डोले ७ गोल गर्दा मेस्सीले मात्रै ३ गोल गरेपछि रोनाल्डोले पछि परेको अवस्थामा उल्टाएर मेस्सीलाई उछिन्न सफल भए । डिसेम्बरअघि ५४३ गोल भएका रोनाल्डोले २०२० सकिँदा ५५० गोल बनाए भने डिसेम्बरअघि ५४६ गोल भएका मेस्सी ५४९ गोलमै अड्किए ।

यस्तो छ अफिसियल सूची:

प्रकाशित मिति २५ पुष २०७७, शनिबार १९:०७
Loading...