ला लिगा : आज बार्सिलोनालाई ग्रानाडाको चुनौती

काठमाडौं, पुस २५
स्पेनिस ला लिगा फुटबलमा आज लिगका सबैजसो ठूला टोलीहरूले आ–आफ्नो खेल खेल्दैछन् । आज हुने खेलमध्ये एक खेलमा बार्सिलोना र ग्रानाडाको रोमाञ्चक खेल पनि हुनेछ । सो खेलका लागि हाल लिगको चौथो स्थानमा रहेको बार्सिलोना सातौं स्थानको ग्रानाडाको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ ।

ग्रानाडा अंक तालिकामा हाल केही पछि रहे पनि ऊ लिगको एक बलियो टोली हो । उसले यो सिजन पनि राम्रो प्रदर्शन गरिरहेको छ । र, ग्रनाडा मजबुत डिफेन्स लाइन मात्रै नभएर राम्रो अट्याकिङ शैली भएको टिम पनि हो । आज उसले आफ्नो घरमा बार्सिलोनलाई स्वागत गर्दा भ्रमणकारी टोलीलाई कडा टक्कर दिने पक्का छ ।

यता, बार्सिलोना अहिले लिगको चौथो स्थानमा छ । पछिल्ला खेलहरूमा ऊ अपराजित रहँदै अंक तालिकामा अवस्था सुधार गरेको छ । दोस्रो स्थानको रियल मड्रिडमाथि दबाब बढाउन वा ऊसँगको अंक दूरी छोट्याउन पनि बार्सिलोनाका लागि अबका हरेक खेल महत्त्वपूर्ण हुनेछन् । ताजा स्थितिमा बार्सिलोना समान खेल खेलेको रियलभन्दा ५ अंक र दुई खेल कम खेलको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले पछि परेको छ । बार्सिलोनाका लागि यो अंक दूरी सानो होइन ।

आज ग्रानाडाविरुद्ध उत्रिँदा बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सीसहितका खेलाडी उपलब्ध छन् । यसअघि एथ्लेटिक बिल्बाओलाई २–३ ले हराउनेक्रममा २ गोल गरेका मेस्सी आज पनि टोलीमा लागि महत्त्वपूर्ण हुने पक्का छ । खेलअघि प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रानाडाविरुद्धको खेल निकै कठिन हुने भए पनि बार्सिलोनाले जित्ने दाबी गरेका छन् ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार १०:५४
Loading...