बार्सिलोनालाई उछिन्दै भिल्लारियल ला लिगाको तेस्रो स्थानमा चढ्यो

काठमाडौं, पुस २५
स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले प्रभावशाली जित निकाल्दै तेस्रो स्थानमा चढेको छ । गत राति भएको लिगको १८औं साताको खेलमा भिल्लारियलले आठौं स्थानको सेल्टा भिगोलाई उसकै घरमा ०–४ ले हराउँदै अंक तालिकामा सुधार गरेको हो । भिल्लारियलले एक खेल बढी खेलेर बार्सिलोनालाई पछि पारेर तेस्रो स्थानमा पनि चढेको छ ।

सेल्टाको घरमा भिल्लारियललाई जिताउन ४ जना खेलाडीले गोल गरे । पाँचौं मिनेटमा जेरार्ड मोरेनोेले गोल गर्दा १४औं मिनेटमा मोई गोमेजले गोल गरे । त्यसपछि १९औं मिनेटमा ड्यानी पारेजोले गोल गर्दा ३१औं मिनेटमा फर्नान्डो निनोले गोल गरेपछि भिल्लारियलले पहिलो हाफमा ०–४ को फराकिलो अग्रता बनायो । तर, दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेल भिल्लारियलले ०–४ कै अग्रता बचाएर जित्यो ।

अब यो जितपछि भिल्लारियलले १८ खेलबाट ३२ अंक जोडेको छ । उसले बार्सिलोनाको तेस्रो स्थान खोसेको हो । बार्सिलोना एक खेल कम खेलेको अवस्थामा ३१ अंकका साथ चौथो स्थानमा झरेको छ । पराजित सेल्टा १८ खेलपछि २३ अंकका साथ आठौं स्थानमा छ ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार १०:३९
Loading...