बार्यन म्युनिखमाथि मोन्चेङ्लाडवाचको सनसनीपूर्ण कमब्याक जित

काठमाडौं, पुस २५
जर्मन लिग बुन्डेसलिगामा ०–२ को अग्रता बचाउन नसक्दा लिग लिडर बार्यन म्युनिख पराजित भएको छ । गत राति भएको लिगको १५औं साताको खेलमा बार्यनलाई मोन्चेङ्लाडवाचले पछि परेको स्थितिमा उल्टाएर आफ्नो घरेलु मैदानमा ३–२ शानदार कमब्याक जित निकाल्न सफल भयो । यससँगै बार्यनले यो सिजन लिगमा दोस्रो हार भोगेको छ ।

रोमाञ्चक खेलमा भएका ५ वटै गोल खेलको ४९औं मिनेटभित्र भएका थिए । पहिलो हाफमा ४ गोल हुँदा दोस्रो हाफको सुरुआतमै १ गोल भएको थियो । बार्यनका लागि खेलको २०औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत् गोल गरेका थिए । त्यसको ६ मिनेटमै लियोन गोरेट्जाले गोल गरेर घरेलु टोलीविरुद्ध बार्यनलाई ०–२ को अग्रता दिलाए ।

त्यसपछि खेलमा बार्यनको समय सकियो । र, घरेलु टोली मोन्चेङ्लाडवाचले शानदार पुनरागन गर्न सफल भयो । मोन्चेङ्लाडवाचले २ गोलले पछि परेको अववस्थामा लगातार ३ गोल हान्यो । खेलको ३५औं मिनेटमा जोनस होफमनले पहिलो गोल गरेर खेल १–२ बनाए । फेरि ४५औं मिनेटमा होफमनले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–२ बनाए ।

पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा पनि सुरुआतबाटै घरेलु टोलीले आक्रामक खेल पस्कियो । तर, उसलाई लिड गोल गर्न धेरैबेर लागेन । दोस्रो हाफ सुरु भएको ४ मिनेटमै फ्लोेरिएन नेउहाउसले गोल गरेर बार्यनविरुद्ध ३–२ को अग्रता दिलाए । तेस्रो गोल खाएपछि बार्यनले बाँकी समयभरि नै बराबरी गोल फर्काउन सकेन । र, खेल मोन्चेङ्लाडवाचले ३–२ ले जित्यो ।

अब यो जितसँगै मोन्चेङ्लाडवाचले १५ खेलबाट २४ अंक बनाएर सातौं स्थानमा यथावत छ । उसले पाँचौं स्थानको युनियन बर्लिन र छैटौं स्थानको उल्भ्सवर्गसँग अंक बराबरी गरेको छ । यता, पराजित बार्यन भने १५ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा यथावत छ । तर, बार्यनको हारले दोस्रो स्थानको आरबी लेइपजिगलाई फाइदा पुग्ने भएको छ । लेइपजिग हाल एक खेल कम खेलेर बार्यनभन्दा २ अंकले मात्रै पछि छ । यदि उसले आफ्नो १५औं खेल जिते शीर्ष स्थानमा चढ्नेछ ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार ०८:०७
Loading...