ग्रानाडासँग खेल्दा कोम्यानलाई दुईटा कुराको डर : खेलअघि के–के भने ?

एजेन्सी, पुस २४
स्पेनिस ला लिगा फुटबलमा भोलि (शनिबार) राति बार्सिलोनाले लिगको १८औं साताको खेल खेल्दै छ । बार्सिलोना सो खेल खेल्न सातौं स्थानको ग्रानाडाको घरेलु मैदानमा उत्रिँदैछ । हाल बार्सिलोना १७ खेलपछि ३१ अंकका साथ तेस्रो स्थानमा छ । ग्रानाडा २४ अंकका साथ सातौं स्थानमा छ ।

पछिल्ला ५ खेलमा अपराजित रहेको बार्सिलोनाले सो खे खेल्नुअघि प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रानाडासँगको खेलबारे राखेका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै उनले ग्रानाडासँग खेल्दा आफूहरू दुई कुरामा निकै चनाखो हुनुपर्ने बताएका छन् । पहिलो, आफ्ना खेलाडीले लय गुमाउने चिन्ता ।

दुई दिनअघि एथ्लेटिक बिल्बाओलाई उसकै घरमा २–३ ले हराउँदा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको थियो । भोलि ग्रानाडाविरुद्ध खेल्दा बार्सिलोनाले सोही लय कायम राख्ला कि नराख्ला भन्नेमा कोम्यान चिन्तित देखिन्छन् । यो सिजन बार्सिलोनाले २ वा ३ खेलसम्म एकनाशको प्रदर्शन गर्न सकेको छैन । एक खेलमा राम्रो खेल्ने र अर्को खेलमा फितलो खेल्ने, पहिलो हाफमा राम्रो खेल्ने र दोस्रो हाफमा लय गुमाउने समस्याबाट बार्सिलोना पीडित बन्दै आएको छ ।

ग्रानाडाविरुद्ध उत्रिँदा कोम्यान त्यस्तो होला कि भन्नेमा चिन्तित छन् । ‘यसअघि बिल्बाओविरुद्ध हामीले उत्कृष्ट खेल खेलेका थियौं । ग्रानाडाविरुद्ध हामी त्यस्तै खेल खेल्न चाहन्छौं । ग्रानाडा एक बलियो टिम हो । यस खेलमा हामीले गरेको एक गल्ती महँगो पर्न सक्छ । यस खेलमा हामीले निकै सावधानी भएर खेल्नुपर्छ । मलाई थाहा छ, ग्रानाडाले हामीलाई निकै कठिन पार्नेवाला छ । हामी ३ अंकका लागि आफ्नो टिमको एकताबद्ध प्रदर्शनमा केन्द्रित हुनुपर्छ । हामीले यस खेलमा सुरुआतबाटै अन्तिम मिनेटसम्म उत्कृष्ट खेल दिन सक्नुपर्छ,’ कोम्यानले भने ।

त्यसैगरी, कोम्यानले ग्रानाडाको आक्रमणको गतिलाई रोक्न बार्सिलोनाको रक्षापंक्तिले गल्ती गर्न नहुने बताएका छन् । ग्रानाडा आक्रामक शैलीको टोली रहेको भन्दै उनले आफ्ना डिफेन्डरलाई सचेत गराइसकेको बताए । ‘ग्रानाडाको फ्रन्ट लाइन निकै धारिलो छ, यसले जस्तोसुकै मजबुत डिफेन्सलाई पनि समस्यामा पार्न सक्छ । त्यसैले हामीले उनीहरूलाई रोक्न डिफेन्समा उच्च सतर्कतासाथ उभिनुपर्छ । उनीहरूलाई खाली ठाउँ दियौं वा बक्समा कुनै गल्ती भयो भने उनीहरूले त्यसलाई खेर जान दिनेछैनन्,’ कोम्यानले भने, ‘मैले मेरा डिफेन्डरलाई यो कुरा सम्झाइसकेको छु ।’

कोम्यानले ग्रनाडाविरुद्धको खेल सिजनकै एक कठिन खेल हुने बताए । ‘मलाई लाग्छ, हामी ग्रानाडासँग यो सिजनको एक कठिन लिग खेल खेल्न गइरहेका छौं । यो खेल जित्ने सम्भावना दुवै टोलीको रहन्छ । तर, हामी जितको भोको छौं । हामी उनीहरूको घरमा ३ अंकका लागि खेल्नेछौं,’ कोम्यानले थपे ।

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार २१:४६
Loading...