जिदान इज ब्याक : बर्खास्तीको मुखबाट जिदानको ‘शानदार कमब्याक’ !

काठमाडौं, पुस २४
गत वर्ष २०१९ को डिसेम्बर १ तारिखमा स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा समूह चरणको पाँचौं खेलमा युक्रेनको क्लब शाख्तर डोनेट्स्कसँग उसकै घरमा २–० ले पराजित भएपछि रियल संकटमा परेको थियो । समूह चरणको अन्तिम खेलमा जर्मन क्लब मोन्चेङ्लाडवाचविरुद्ध स्पष्ट जित निकाल्न नसके रियल इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने मुखमा पुगेको थियो ।

समूह चरणका दुवै होम एन्ड अवे खेलमा शाख्तरसँग हारेपछि रियल समस्यामा मात्रै परेन, प्रशिक्षक जिनेदिन जिदानको आलोचना पनि चर्को भयो । समूह चरणमा सन्तोषजनक नतिजा निकाल्न नसकी अन्तिम १६ मा जान अन्तिम खेलमा गर कि मरको अवस्थामा पुगेपछि जिदान बर्खास्तीको मुखमा पुगेका थिए ।

यता, त्यसैबेला ला लिगामा पनि रियलको अवस्था राम्रो थिएन । ला लिगामा पनि कमजोर र च्याम्पियन्स लिगमा पनि समूह चरणबाटै बारिहने खतरामा परेपछि जिदानको जागिर धरापमा परेको थियो । शाख्तरसँग हारेपछि उनको जागिरलाई लिएर टिकाटिप्पणी सुरु भइसकेको थियो । यदि अन्तिम खेलमा मोन्चेङ्लाडवाचलाई २–० ले हराएर अनितम १६ मा प्रवेश गर्न नसकेको भए जिदानको जागिर त्यत्तिबेलै चट् भइसक्थ्यो ।

तर, अक्सर टिम दबाबमा परेका बेला उद्धार गर्न र उत्कृष्ट पुनरागमन गराउन माहिर जिदानले फेरि एकपटक त्यस्तै भर्सन देखाए । दुवै प्रतियोगितामा रियल खराब स्थितिमा रहेका बेला शाख्तरसँगको हार र आफ्नो बर्खास्तीको खतराबीच उनले रियललाई निकै प्रभावकारी ढंगले सम्हाले । फलतः शाख्तरसँग २–० को हारपछि रियलले च्याम्पियन्स लिग र ला लिगा गरी दुवै प्रतियोगितामा कूल ८ खेल खेलिसक्दा आजसम्म पनि हार्नु परेको छैन ।

शाख्तरसँगको हारपछि रियलले ला लिगामा सेभिल्लाविरुद्ध डिसेम्बर ५ मा उसकै घरमा खेलेर ०–१ को जित निकाल्दै पुनरागनको बाटो समातेको थियो । त्यसयता रियल उत्कृष्ट लयमा छ । रियलले त्यसयता च्याम्पियन्स लिगमा १ र ला लिगामा ७ खेल खेलिसक्दा ७ खेलमा स्पष्ट जित र १ खेल बराबरी गरेको छ ।

जिदानले टोलीका प्रमुख खेलाडी कप्तान सर्जियो रामोस, इडेन हाजार्ड, करिम बेन्जेमा, लुका जोभिच, राफाएल भाराने, कासेमिरोजस्ता प्रमुख खेलाडी चोट र कोरोना भाइरसका कारण टोलीबाहिर रहेका बेला पनि उपलब्ध खेलाडीलाई प्रयोग गरेर लगातार राम्रा नतिजा निकाल्दै आए । रियलका पछिल्ला खेलको नतिजा र तथ्यांक हेर्दा जिदानले टोलीलाई सिजनकै सबसे बेस्ट फर्ममा फर्काएका छन् ।

पछिल्लोपटक डिसेम्बर २३ तारिखमा ला लिगामा आफ्नो घरमा ग्रानाडालाई २–० ले हराएपछि जिदानले मिडियासँग कुरा गर्दै आफूहरू सिजनकै उत्कृष्ट लयमा फर्किएको बताएका थिए । ‘पछिल्ला खेलमा हामीले राम्रो गरिरहेका छौं, यो हाम्रा लागि अतिआवश्यक थियो । मलाई लाग्छ, अब हामी सिजनकै बेस्ट फर्ममा फर्किएका छौं,’ जिदानले भनेका थिए ।

रियलले खेलेका पछिल्ला ८ खेलमध्ये ला लिगाको उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडविरुद्धको मड्रिड डर्बीमा २–० को उत्कृष्ट जित निकाल्दा ग्रानााड र सेल्टा भिगोविरुद्ध दुवै खेलमा क्लिन सिटसहित २–० को जित निकालेको थियो । रियल पछिल्लोपटक वर्ष २०२० को अन्तिम खेलमा अवे मैदानमा इल्चेसँग १–१ को बराबरीमा रोकिएको थियो । त्यसपछि उसले जनवरी २ तारिखमा वर्षको पहिलो खेलमा सेल्टा भिगोलाई २–० ले हरायो ।

जिदानको कमान्डमा रियलले पछिल्ला ८ खेल खेल्दा विपक्षीविरुद्ध प्रशस्तै गोल गरेको छ । उसले औसतमा प्रतिखेलमा २ गोल गरेको छ । यता, उसले आफूले भने निकै कम गोल खाएको छ । रियलका पछिल्ला ८ खेलको नतिजा हेरौं–

खेल – ८
जित – ७
बराबरी – १
हार – ०
गरेको गोल – १६
खाएको गोल – ३
क्लिन सिट – ५

अब रियलले शनिबार राति ला लिगामा अवे मैदानमा ओसासुनासँग खेल्दै छ । हाल रियल लिगमा १७ खेलपछि ३६ अंक बनाएर दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एथ्लेटिको भन्दा रियल अहिले २ अंकले पछि छ ।

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार २१:०८
Loading...