गोल संख्यालाई लिएर इन्स्टाग्राममा बायो परिवर्तन गरेको विषयमा पेलेले गरे खण्डन

एजेन्सी, पुस २४
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो रेकर्ड तोडेपछि सामाजिक सन्जाल इन्स्टाग्रामको बायो परिवर्तन गरेको भन्ने कुराको ब्राजिलियन महान् खेलाडी पेलेले अस्वीकार गरेका छन् । केही दिनअघि पोर्चुगिज फरवार्ड रोनाल्डोले सिरी ए लिगमा उडिनेसविरुद्ध २ गोल गर्दै पेलेका नाममा रहेको दोस्रो सर्वाधिक अफिसियल गोलको रेकर्ड तोडेका थिए ।

रोनाल्डोले आफ्नो रेकर्ड तोडेपछि पेलेले गोल संख्या नै उल्लेख गरेर इन्स्टाग्राममा आफ्नो बायो परिवर्तन गरेको खबर एकाएक चर्चामा आयो । पेलेले इन्स्टाको बायोमा आफ्नो गोल संख्या १२८३ राखेरै रोनाल्डोसहित स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई घुमाउरो पारामा चुनौती दिएको भन्ने विश्लेषण मिडियामा गरिएको थियो । रोनाल्डोले पेलेको रेकर्ड तोड्नुअघि मेस्सीले पनि पेलेले एक क्लबका लागि गरेको सर्वाधिक ६४३ गोलको रेकर्ड तोडेका थिए ।

ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलले आफ्नो इन्स्टाग्रामको बायोमा आफ्नो गोल संख्या सुरुआतबाटै राखेको बताएका छन् । रोनाल्डोले आफ्नो रेकर्ड तोडेपछि आफूले सो गोल संख्या बायोमा राखेको भनेर मिडियाले झुठो खबर बनाएको पेलेले दाबी गरेका छन् । पेलेले सामाजिक सन्जालमार्फत् बायो परिवर्तन गरेको विषयमा लेखेका छन्–

‘मैले आफ्नो इन्स्टाग्रामको बायो पविर्तन गरेर अन्य खेलाडीको उपलब्धिलाई छायाँमा पार्न खोजेको भनेर आएका समाचार पढें । म यो प्रष्ट पार्न चाहन्छु कि, त्यो तथ्यांक मैले सुरुआती दिनबाटै राख्दै आएको थिएँ । यति ठूला खेलाडीको अद्भुत कीर्तिमानलाई यस्ता साना कुराले अल्झाउनु हुँदैैन ।’

फुटबल इतिहासमा सबैभन्दा धेरै अफिसियल गोल गर्ने खेलाडीको रेकर्ड जोसेफ बिकानका नाममा छ । सन् २००१ मा दिंगत भएका उनले आफ्नो करिअर दौरान कूल ७५९ अफिसियल गोल गरेका थिए । अब रोनाल्डो बिकानको रेकर्डभन्दा मात्रै १ गोलले पछि छन् । ताजा स्थितिमा बिकानको ७५९, रोनाल्डोको ७५८ र पेलेको ७५७ अफिसियल गोल रहेको छ ।

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार २०:०९
Loading...