नयाँ प्रशिक्षकले गरे एमबाप्पेको आलोचना : नेइमारबारे के भने ?

एजेन्सी, पुस २४
फ्रेन्च क्लब पिएसजीका नयाँ प्रशिक्षक माउरिसयो पोचेटिनोले आफ्ना स्टार खेलाडी केलियन एमबाप्पेको प्रदर्शनलाई लिएर आलोचना गरेका छन् । नयाँ क्लबमा आफ्नो नेतृत्वमा पहिलो खेलमै पिएसजी सेन्ट इटिएनसँग निराशाजनक १–१ को बराबरीमा रोकिएको थियो । सो खेलपछि अर्जेन्टिनी प्रशिक्षकले एमबाप्पेबारे प्रश्न सोधिएको थियो ।

सोक्रममा पोचेटिनोले एमबाप्पे एक क्षमतावान् खेलाडी भए पनि उनले अझै धेरै सुधार गर्नु आवश्यक रहेको बताए । ‘उनी एक क्षमतावान् खेलाडी हुन्, यसमा कुनै शंका छैन । तर, आज उनले खास राम्रो गर्न सकेनन् । उनीप्रति मेरो ठूलो असन्तुष्टि छैन । किनभने, हामी भर्खरै सँगै काम गर्न थालेका छौं । हामी सँगै भएको मात्रै ३ दिन भयो,’ पोचेटिनोले भने, ‘उनले अझै उल्लेख्य सुधार गर्नुपर्ने मैले देखेको छु । आजको खेलबाट उनी पनि निराश होलान् । हामीले सुधार्दै अघि बढ्नुपर्छ ।’

त्यसैगरी, पोचेटिनोलाई अर्का स्टार नेइमारको विषयमा पनि प्रश्न गरिएको थियो । सोक्रममा उनले नेइमारलाई सर्वोत्कृष्ट स्तरको प्रदर्शनका लागि आफूले सक्दो मदत गर्ने बताए । पोचेटिनोको पहिलो खेलमा नेइमार खेलेका थिएनन् । ‘नेइमारसँग काम गर्न म उत्साहित छु । म यहाँ रहँदा उनलाई प्रदर्शनको उत्कृष्ट स्तरमा पुग्न सबैखाले मदत गर्नेछु,’ पोचेटिनोले भने, ‘उनी कौशलपूर्ण खेलाडी हुन् । मलाई उनीबाट एकदमै ठूलो आशा छ । हामीलाई पहिला सँगै काम गर्न दिनुहोस् । धेरै कुरा पछि भनौंला ।’

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार १६:४५
Loading...