रियलका प्रशिक्षक जिदान आइसोलेसनमा

एजेन्सी, पुस २४
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदान आइसोलेसनमा बसेका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेपछि जिदान पनि आइसोलेसनमा बसेका हुन् । जिदानको पहिलो चरणको पिसिआर रिपोर्ट नेगेटिभ आए पनि तीनपटकसम्म जाँच नहुँदा उनी आइसालेसनमै बस्नेछन् ।

आइसोलेसनमा रहेपछि जिदानले बिहीबार टोलीसँगको प्रशिक्षण पनि गुमाएका थिए । भाल्डेबेबासमा जिदानबिनै खेलाडीले अन्य स्टाफका साथमा प्रशिक्षण गरेका थिए । स्थानीय सरकार र कोरोनाको प्रोटोकलअनुसार जिदान तेस्रो चरणसम्मको पिसिआर जाँच नेगेटिभ नआउँदासम्म काममा फर्किन पाउनेछैनन् । जिदानले १० दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।

रियलले अब जिदानबिनै आगामी दुई खेल खेल्नेछ । शनिबार ला लिगामा ओसासुनाविरुद्ध हुने खेल जिदानले गुमाउने पक्का छ । त्यसछि आगामी बिहीबार स्पेनिस सुपर कपको सेमिफाइनलमा एथ्लेटिक बिल्बाओविरुद्ध हुने खेल पनि जिदानले गुमाउनेछन् । रियल कपको फाइनल पुगेमा जिदानले फाइनल खेल भने खेलाउनेछन् ।

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार १६:००
Loading...