किइजाद्वारा रोनाल्डो र डिबालाको उच्च प्रशंसा

एजेन्सी, पुस २४
इटालियन क्लब युभेन्टसका नयाँ खेलाडी फेडरिको किइजाले आफ्ना सहकर्मीद्वय क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको तारिफ गरेका छन् । दुई दिनअघि सिरी ए लिगमा लिग लिडर एसी मिलानलाई उसकै घरेलु मैदानमा १–३ ले हराउनेक्रममा किइजाले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए । उनका दुवै गोलमा डिबालाले असिस्ट दिएका थिए । सो खेलमा रोनाल्डो भने गोलविहीन बनेका थिए ।

खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै किइजाले रोनाल्डो र डिबाला मैदानमा हुँदै टिम सधैं जितको हकदार हुने बताए । रोनाल्डो र डिबालाले गोल र असिस्ट नगरे पनि उनीहरूले टिमलाई जिताउन सघाउने भन्दै किइजाले दुवै खेलाडीको दिल खोलेर प्रशंसा गरे । ‘आज हामीले एक उत्कृष्ट खेल खेल्यौं । लिग लिडरलाई हराउन हामीले सान सिरोमा ३ गोल गर्न सफल भयौं । यो सबै टिमको बलले सम्भव भएको हो,’ किइजाले भने ।

किइजाले अघि थपे, ‘जब हामी रोनाल्डो र डिबालाका साथमा खेल्छौं, सबै कुरा धेरै नै सहज भइदिन्छन् । उनीहरूले खेलमा यस्ता चिज र ठाउँ देख्छन्, जुन अरूले देख्न सक्दैनन् । अघिल्लो खेलमा रोनाल्डोले जति सुुन्दर २ गोल गरे, त्योभन्दा सुन्दर त उनको असिस्ट थियो । आज उनीबाट गोल र असिस्ट भएन तर डिबालाले अपत्यारिला बल मलाई दिएर गोल निकाल्न सहयोग गरे । यी दुई खेलाडीसँग खेल्न पाउँदा एकदमै खुसी छु ।’

किइजाले युभेन्टस सिरी ए लिगमा सही दिशामा फर्किएको पनि बताए । ‘मिलानलाई हराएपछि हामी अब सही दिशामा फर्किएका छौं । हामीलाई विश्वास छ, युभेन्टस उपाधिको बाटोमा स्पष्ट रूपमा फर्किएको छ,’ किइजाले थपे ।

लोनमा खेलिरहेका किइजाले युभेन्टसमा पहिलो सिजन निकै राम्रोसँग बिताइरहेका छन् । उनले हालसम्म सिरी ए लिगमा ११ खेलबाट ४ गोल र ३ असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगमा ६ खेलबाट १ गोल र १ असिस्ट गरेका छन् । उनी युभेन्टसमा अहिले सबैभन्दा धेरै गोलमा सोझै सहभागी हुने मिडफिल्डर हुन् ।

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार ०९:५०
Loading...