उपाधि दाबेदार एसी मिलान, इन्टर मिलान र नापोली एकैदिन हारेपछि ……..

काठमाडौं, पुस २३
इटालियन सिरी ए लिग फुटबलमा बुधबार राति एकैदिन १० खेल भए । लिगको १६औं साताका खेल हुँदा उपाधि होडमा रहेका तीन ठूला टिमले एकैदिन हार व्यहोरे । जसमा लिग लिडर एसी मिलान, दोस्रो स्थानको इन्टर मिलान र पाँचौं स्थानका नापोली सबैले यस साता हार भोगे । यो सिजन युरोपमा अपराजित रहेको एक मात्रै टिम एसी मिलानको अपराजित यात्रा पनि बुधबारै टुंगियो ।

एसी मिलानको शानदार अपराजित यात्रामा साबिक विजेता युभेन्टसले उसकै घरमा पसेर १–३ ले स्तब्ध पूर्णविराम लगाइदियो । त्यसैगरी, दोस्रो स्थानको इन्टर मिलान साम्पडोरियासँग अवे मैदानमा २–१ ले पराजित हुँदा पाँचौं स्थानको नापोलीलाई स्पेजियाले उसकै घरेलु मैदानमा १–२ ले स्तब्ध बनायो । लिगका अन्य बलिया टोलीहरू लाजियो, एटलान्टा र युभेन्टसले यस साता सुखद् नतिजा निकाले ।

एकै साताका खेलमा उपाधि होडमा रहेको एसी मिलान, इन्टर मिलान र नापोली पराजित हुँदा अंक तालिकामा उनीहरूलाई ठूलो झट्का लागेको छ । खास गरी यो सिजन कमजोर अवस्थामा रहेको साबिक विजेता युभेन्टसलाई यी तीन टोलीको हारले सोझो फाइदा पुगेको छ । किनभने, युभेन्टसले यी तीनवटै टोलीसँगको अंक दूरी घटाउने अवसर यस साता पायो । युभेन्टसलाई सबैभन्दा बढी फाइदा एसी मिलान र इन्टर मिलानको हारले पुगेको छ ।

ताजा स्थितिमा एसी मिलान १६ खेलपछि ३७ अंकका साथ शीर्ष स्थानमा छ । १६ नै खेल खेलेको इन्टर मिलान ३६ अंकसहित दोस्रोमा यथावत छ । १६ नै खेल खेलेको रोमा ३३ अंकसहित तेस्रो स्थानमा चढेको छ । अन्य टोलीको भन्दा एक खेल कम अर्थात् १५ खेल खेलेको युभेन्टस ३० अंकसहित चौथो स्थानमा चढेको छ । १६ खेलबाट २९ अंक भएको सासुओलो पाँचौंमा रहँदा १५ खेल खेलेको नापोली २८ अंकसहित छैटौमा छ । १६ खेलबाट २५ अंक भएको लाजियो आठौं स्थानमा छ ।

युभेन्टसले एसी मिलानलाई उसकै घरेलु मैदानमा हराएर लिग लिडरसँगको अंक दूरी छोट्याएको छ । सोही दिन इन्टर मिलान र नापोली पराजित हुँदा त्यसको फाइदा पनि युभेन्टसलाई पुग्यो । यदि मिलानसँग पराजित भएको युभेन्टस १३ अंकले पछि पर्ने थियो, जुन उसका लागि ज्यादै कठिन बन्नेवाला थियो । तर, जित्नैपर्ने खेलमा युभेन्टसले शानदार जितेर उपाधि होडमा आफूलाई अघि बढाएको छ ।

अब युभेन्टस र नापोलीले बाँकी एक खेल खेल्नेछन् । सो खेलमा यी दुई टोली एकअर्काविरुद्ध भिड्दा युभेन्टसको दाउ स्पष्ट जितेर एसी मिलानसँगको दूरी ७ बाट ४ मा छोट्याउनु हुनेछ । यदि नापोलीलाई हराउन सके युभेन्टसले उपाधि होडमा मिलानसँग नजिकबाट प्रतिस्पर्धा बढाउने छ । एसी मिलान र युभेन्टसले लिगमा दोस्रो लेगको खेल खेल्न बाँकी नै छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार २१:५३
Loading...