बार्सिलोनामा मेस्सीको भविष्यबारे नयाँ अध्यक्षका उम्मेदवारले गरे खुलासा

एजेन्सी, पुस २३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सीले यो सिजनपछि क्लब छाड्ने करिब–करिब तय छ । यो सिजनको पूर्वसन्ध्यामै उनले क्लब छाड्ने निर्णय गरेका थिए । तर, आफूले भनेजसरी क्लबले फ्रि ट्रान्सफरमा जान नदिएपछि मेस्सी बाध्य भएर थप एक सिजन क्याम्प नोउमै रहन बाध्य भए ।

बार्सिलोनासँग मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । यो सिजन सकिएसँगै मेस्सीले आफूले चाहेको क्लबमा फ्रि ट्रान्सफरमा जान पाउँछन् । मेस्सीले चाहे जनवरी विन्डो खुलेकै दिनबाट कुनै पनि क्लबमा जाने वा नयाँ क्लब रोजेको घोषणा गर्न पाउनेछन् । मेस्सीले हालसम्म यसबारे केही बोलेका छैनन् । तर, उनी अर्को सिजन पनि बार्सिलोनामै रहने सम्भावना ज्यादै न्यून मात्रै छ ।

यसैक्रममा, बार्सिलोनाको बोर्डको भावी अध्यक्षका दाबेदार अगुस्टी बेनेडिटो बेनेटले क्लबमा मेस्सीको भविष्यबारे बताएका छन् कि, मेस्सीले समर सिजनमा क्लब छाड्ने पक्का छ । चुनावी तयारीमा रहेका उनले मेस्सीको बहिर्गमन रोक्न नसकिने दाबी गरेका छन् । अध्यक्षमा जो कोही आए पनि मेस्सी अब पुनः मनस्थिति बदलेर बार्सिलोनामा नरहने बेनेटले स्पष्ट पारेका छन् ।

‘मलाई प्राप्त जानकारीअनुसार मेस्सी समरमा बार्सिलोनाबाहिर हुने निश्चित छ । हामी उनी निकट स्रोतसँग नियमित सम्पर्कमा छौं । र, मेस्सीले क्लब छाड्ने यसअघिको मनस्थिति अझै बदलेका छैनन्,’ बेनेटले भने, ‘उनी क्याम्प नोउ छाड्न सम्झौताको अन्तिम दिनको प्रतीक्षामा छन् । मलाई लाग्दैन, उनले बाँकी दिनमा सोच बदल्नेछन् ।’

बेनेटले अध्यक्षमा जो आए पनि मेस्सीलाई निरन्तरता दिन कठिन रहेको बताए । ‘पहिलो कुरा त मेस्सी अब आफैं यहाँबाट बाहिर हुन चाहन्छन् । अर्कातर्फ क्लबले उनको तलब कटौती गरेर मात्रै नयाँ सम्झौता गर्नेछ । नयाँ अध्यक्षमा जो आए पनि मेस्सीलाई यहीं राख्न सकिने ठाउँ म देख्दिनँ,’ बेनेटले भने, ‘बार्सिलोनाले अहिलेबाटै आगामी सिजन मेस्सीबिनै सुरु गर्नेगरी तयारी थालिसकेको छ ।’

बेनेटले मेस्सीले निराशाजनक अवस्थाबाट क्लब छाड्न लाग्दा आफू दुःखी रहने बताए । ‘थाहा छैन, बार्सिलोनाले यो सिजन कसरी टुंग्याउँछ । यदि गत सिजनभन्दा फरक भएन र केही जित्न सकिएन भने एक महान् खेलाडीको बिदाइ निकै खल्लो हुनेछ । यो कुराले मलाई मात्रै हैन, क्लबका फ्यानदेखि मेस्सीका फ्यानसमेतलाई दुःखी बनाउनेछ,’ बेनेटले थपे ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार २०:५०
Loading...