काराबाओ कपको उपाधिका लागि सिटी र टोटनह्याम भिड्ने

काठमाडौं, पुस २३
जारी सिजन २०२०–२१ अन्तर्गत इंग्लिस काराबाओ कप फुटबलको फाइनल टाई तय भएको छ । गत राति दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएपछि फाइनल पुग्ने दुवै टोलीको टुंगो लागेको हो । म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडमाथि २–० को एकपक्षीय नतिजा निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यसपटक कपको उपाधिका लागि सिटी र टोटनह्याम भिड्ने भएका छन् । अघिल्लो दिन टोटनह्यामले ब्रेन्फोर्डलाई २–० ले नै हराएर फाइनल पुग्ने पहिलो टिम बनेको थियो । त्यसपछि सिटीले युनाइटेडलाई २–० ले नै हराएर उपाधि भिडन्तमा टोटनह्यामसँगको भेट पक्का गरेको हो ।

सिटीलाई यसपटक कपको उपाधि लगातार चौथो वर्ष जितेर रेकर्ड बनाउने अवसर छ । यसअघि लिभरपुलले मात्रै यो उपाधि लगातार चारपटक जितेको छ, जुन रेकर्ड हो । यदि सिटीले टोेटनह्यामलाई हराएर उपाधि जिते सिटीले लिभरपुलसँग रेकर्ड बराबरी गर्नेछ ।

त्यसैगरी, सिटीलाई यसपटक उपाधि जितेर सर्वाधिक कप उपाध जित्ने लिभरपुलको ८ उपाधि संख्यासँग बराबरी गर्ने अवसर पनि छ । हालसमम यो उपाधि सर्वाधिक ८ पटक लिभरपुल र दोस्रो धेरै सिटीले ७ पटक जितेको छ । यस सिजनको फाइनल खेल आगामी अप्रिल २५ तारिखमा हुनेछ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार १९:५०
Loading...