मेस्सी पहिलोपटक सर्वाधिक गोलकर्ताको सूचीमा चढे : यस्तो छ ताजा स्थिति

काठमाडौं, पुस २३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सी जारी सिजन पहिलोपटक घरेलु लिग ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा चढेका छन् । अघिल्लो दिन बार्सिलोनाले अवे मैदानमा एथ्लेटिक बिल्बाओलाई उसकै घरमा २–३ ले हराउनेक्रममा मेस्सीले २ गोल गरेका थिए ।

सो खेलमा गरेको २ गोलको मदतमा मेस्सीले लिग गोलमा सुधार गरेका हुन् । मेस्सीले अब यो सिजन ला लिगामा गरेको कूल गोल संख्या ९ पुगेको छ, जुन अन्य सर्वाधिक गोलकर्ताले गरेजति नै अर्थात् बराबरी हो । यसअघि सिजनको सुरुआतबाट गोल गर्न नसक्दा मेस्सी लगातार आलोचित बन्दै आएका थिए ।

तर, बिल्बाओविरुद्ध मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि उनले अब आफू लयमा फर्किएको सन्देश मात्रै दिएका छैनन्, उनले लिगको सर्वाधिक गोकलर्ताको दौडमा पनि आफूलाई अगाडि बढाएका छन् । ताजा स्थितिमा लिगमा मेस्सीसहित ४ जना खेलाडी समान ९–९ गोलसहित संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा रहेका छन् । मेस्सीले अब लयमा प्रदर्शन जारी राखे उनले आगामी खेलबाटै अन्य खेलाडीलाई पछि पारेर सर्वाधिक गोलमा लिड गर्ने सम्भावना प्रबल छ । यस्तो छ लिगमा सर्वाधिक गोलकर्ताको ताजा सूची–

१. इयागो आसपास – ९ गोल (१७ खेल)
२. लुइस स्वारेज – ९ गोल (१२ खेल)
३. लिओनल मेस्सी – ९ गोल (१६ खेल)
४. जेरार्ड मोरेनो – ९ गोल (१५ खेल)
५. करिम बेन्जेमा – ८ गोल (१५ खेल)

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार १९:०७
Loading...