मेस्सी चम्किँदा बार्सिलोनाको जित : लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस २३
कप्तान लिओनल मेस्सी र युवा स्टार पेड्रीको उत्कृष्ट प्रदर्शनको मदतमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै घरेलु मैदानमा २–३ ले हरायो । बार्सिलोनालाई जिताउन मेस्सीले २ गोल गर्दा पेड्रीले १ गोल गरेका थिए । यस खेलमा मेस्सी र पेड्रीको उत्कृष्ट तालमेल देखिएको थियो ।

जितको चर्को दबाब लिएर अवे मैदानमा उत्रिएको बार्सिलोनालाई सुरुआतमै झट्का लागेको थियो । घरेलु टोेली बिल्बाओले खेल सुरु भएको २ मिनेट ४९ सेकेन्डमै गोल गरेर पाहुना टोलीविरुद्ध अग्रता बनाएको थियो । बिल्बाओले बार्सिलोनाको पोस्टतर्फ बुनेको पहिलो आक्रमणमै इनाकी विलियम्सले उत्कृष्ट गोल गरेर टिमलाई लिड दिएका थिए । बार्सिलोनाको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै विलियम्सले सो गोल गरेका थिए ।

तर, सुरुआतमै गोल खाए पनि बार्सिलोनाले पहिलो हाफमै उत्कृष्ट कमब्याक गर्न सफल भयो । खेलको १४औं मिनेटमा फ्रेन्की डे जोङले कठिन स्थितिबाट पोस्टको साइड लाइनबाट दिएको पासमा अनमार्क रहेका पेड्रीले केही अगाडि बढेर हेडिङमार्फत् सुन्दर गोल गर्दै खेल १–१ बनाए । त्यसपछि ३८औं मिनेटमा कप्तान मेस्सीले बक्सभित्रबाट लो सटमा निकै सुन्दर गोल गरेपछि बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर खेलमा १–२ को अग्रता बनायो । मेस्सीको गोलमा पेड्रीले नै ब्याक हिलमा चलाखीपूर्वक निकै राम्रो असिस्ट दिएका थिए, जसलाई मेस्सीले खेर जान दिएनन् ।

दोस्रो हाफमा दुवै तर्फबाट १–१ गोल भए । खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले एन्टोनी ग्रीजम्यानको पासमा गोल गरेपछि बार्सिलोना जिततर्फ अघि बढेको थियो । सो गोलपछि मेस्सीका दुई प्रहार पोलमा लागेर फर्किंदा उनी सिजनको पहिलो ह्याट्रिक गर्नबाट चुकेका थियो । मेस्सीले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरेको खेलमा उनलाई ह्याट्रिक सहज अवसर पनि थियो ।

बार्सिलोना सहज जित नजिक पुगेका बेला खेलको ९०औं मिनेटमा बिल्बाओका लागि इकर मुनिएनले गोल गरेर खेललाई जीवितै राखेका थिए । तर, थप समयको ४ मिनेटमा उसले थप गोल गर्न नसक्दा खेल बार्सिलोनाले २–३ ले जित्यो ।

अब यो जितपछि बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ । र, ऊ छैटौं स्थानबाट तेस्रो स्थानमा पनि चढेको छ । अंक तालिकमा अवस्था सुधार्न बार्सिलोनाका लागि यो जित निकै महत्त्वपूर्ण रह्यो । तर, बार्सिलोना अझै पनि दुई खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ७ अंक र समान खेल खेलेको दोस्रो स्थानको रियल मड्रिडभन्दा ५ अंकले पछि नै छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०३:३८
Loading...