एसी मिलानको अपराजित यात्रा युभेन्टसले उसकै घरमा टुंगाइदियो !

काठमाडौं, पुस २३
जारी सिजन २०२०–२१ अन्तर्गत युरोपियन टप–५ लिगमा १५ खेलसम्म पनि अपराजित रहेको युरोपको एक मात्रै अपराजित टिम इटालियन एसी मिलानको अपराजित यात्रा टुंगिएको छ । सिरी ए लिगको १६औं साताको खेलमा साबिक च्याम्पियन युभेन्टसले मिलानलाई उसकै घरेलु मैदानमा १–३ ले हराउँदै उसको शानदार यात्रामा पूर्णविराम लगाइदिएको हो ।

नेपाली समयअनुसार बिहीबार बिहान मिलानको घरेलु मैदान सान सिरोमा भएको खेलमा युभेन्टसलाई प्रभावशाली जित दिलाउनेक्रममा फेडरिको किइजा नायक बने । उनले २ गोल गरे भने वेस्टन म्याकेनीले १ गोल गरे । पाउलो डिबालाले यस खेलमा २ असिस्ट गर्दा अर्को असिस्ट डेजान सुलुसेभ्स्कीले गरे । यस खेलमा क्रिस्टियानो रोनाल्डो भने गोलविहीन बने ।

अब यो जितसँगै युभेन्टसले युरोपको एक मात्रै अपराजित र सिरी ए लिगको शीर्ष स्थानको टिमलाई सिजनको पहिलो हार मात्रै खुवाएको छैन, लिग लिडरसँगको अंक दूरी पनि छोट्याएको छ । मिलानलाई उपाधि होडमा अग्रता बढाउन र युभेन्टसलाई उपाधि होडमा फर्किन यो जित जरुरी थियो, जसमा युभेन्टसले बाजी मार्न सफल भयो ।

लिगका दुई बलिया टोली भिडेको रोमाञ्चक खेलमा युभेन्टसका लागि खेलको १८औं मिनेटमा फेडरिको किइजाले शानदार गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । पाउलो डिबालाले चलाखीपूर्वक दिएको ब्याक हिल पास नियन्त्रणमा लिएर किइजाले बल केही अगाडि बढाएर हानेको शक्तिशाली लो सटले सोझै जाली चुमेको थियो । त्यसपछि पनि किइजाको एक खतरनाक प्रहार पोलमा लागेर फर्किएको थियो । पहिलो हाफमा घरेलु टोली मिलानले पनि पटक–पटक आक्रमण बुन्यो ।

तर, युभेन्टसका गोलकिपर सिजेस्नीले मिलानका पटक–पटकका खतरनाक प्रहारहरू असफल पारेर घरेलु टोलीलाई निराश तुल्याएका थिए । उनले खेलभरिमा कूल ६ प्रहार बचाएर युभेन्टसलाई खेलमा जीवितै राखेका थिए । तर, खेलको ४१औं मिनेटमा मिलानका लागि डेभिड कालब्रियाले निकै सुन्दर गोल गरेर टिमलाई पहिलो हाफमा १–१ को बराबरीमा फर्काउन सफल भए । युभेन्टसको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै अनमार्क रहेका डेभिडले सजिलैसित गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा युभेन्टस खेलमा हाबी भयो । उसका लागि ६२औं मिनेटमा किइजाले अर्को उत्कृष्ट गोल गरे । यस गोलमा पनि डिबालाले नै असिस्ट प्रदान गरेका थिए । दोस्रो गोल खाएपछि बराबरी गोलका लागि लगातार संघर्ष गरिरहेको मिलान त्यत्तिबेला स्तब्ध भयो, जतिबेला खेलको ७५औं मिनेटमा युभेन्टसले तेस्रो गोल हान्यो ।

यसपटक सब्सिच्युट खेलाडी वेस्टन म्याकेनीले बक्सभित्र अनमार्क रहेको अवस्थामा लो भलीमा हलुका प्रहार गर्दै बललाई जाली चुमाएपछि युभेन्सले खेल आफ्नो कब्जामा पारेको थियो । सो गोलमा सब्सिच्युट खेलाडी सुलुसेभ्स्कीले निकै सुन्दर असिस्ट गरेका थिए । युभेन्टसले तेस्रो गोल गरेपछि खेलमा थप गोल भएन । र, खेल युभेन्टसले १–३ ले जित्यो ।

अब यो जितपछि युभेन्टसले लिगका १५ खेल सकिँदा ३० अंक बनाएको छ । युभेन्टसले अंक तालिकामा अवस्था सुधार गर्दै चौथो स्थानमा चढेको छ । तर, युभेन्टस अझै पराजित एसी मिलानभन्दा ७ अंकले पछि । तर, युभेन्टसले थप एक खेल खेल्नै बाँकी छ । यदि युभेन्टसले सो खेल पनि जिते युभेन्टसले मिलानसँगको अंक दूरी ४ मा छोट्याउनेछ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०३:२२
Loading...