एथ्लेटिको मड्रिड तेस्रो डिभिजनको टिमसँग स्तब्ध : कोपा डेल रे बाट आउट !

काठमाडौं, पुस २३
जारी सिजन स्पेनिस शीर्ष लिग ला लिगाको उपाधि होडमा सुविधाजनक अग्रता लिएर शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड अर्को प्रतियोगिता कोपा डेल रे फुटबलबाट आउट भएको छ । बुधबार राति भएको दोस्रो चरणको निर्णायक खेलमा एथ्लेटिकोलाई तेस्रो डिजिभनको लिग खेल्ने क्लब कोर्नेल्लाले आफ्नो घरेलु मैदानमा पाहुना टोलीलाई १–० को नमिठो चखाउँदै प्रतियोगिताबाटै आउट गराइदिएको हो । यससँगै एथ्लेटिकोका लागि अब कोपाको उपाधि यात्रामा पहिलो खेलबाटै पूर्णविराम लागेको छ ।

प्रशिक्षक डिएगो सिमोनीले तल्लो श्रेणीको टिमविरुद्ध युवा टोलीका केही खेलाडीलाई समेटेर मिश्रित टोली खेलाएका थिए । तर, उनको सो निर्णय निकै महँगो साबित भयो । फ्रन्ट लाइनमा जुआओ फेलिक्स, एन्जल कोरेरिया, साउलसहितका सिनियर टोलीबाट पहिलो रोजाइका खेलाडी खेलाए पनि एथ्लेटिको हार पन्छाउन सकेन ।

एथ्लेटिकोले खेलको सातौं मिनेटमै गोल खाएको थियो । फितलो रक्षापंक्तिको फाइदा उठाउँदै आड्रेयन जिमेन्जले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि एथ्लेटिकोले खेलमा फर्किन खेलभरि नै १ गोल पनि गर्न सकेन । खेलको ६३औं मिनेटमा एथ्लेटिकोका रिकार्ड सान्चेज सेन्ड्रा दोहोरों पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो ।

कोपाबाट आउट भएपछि एथ्लेटिकोलाई सिजनको मध्यभागमै ठूलो झट्का लागेको छ । कप फुटबलमा अप्रत्यासित रूपमा हार भोग्दै सुरुआती चरणबाटै आउट हुँदा उसको बाँकी सिजनलाई पनि खतराको घन्टी बजाइदिएको छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०१:०१
Loading...