इन्टर मिलान हारेको रात नापोली पनि आफ्नै घरमा हार्‍यो !

काठमाडौं, पुस २३
इटालियन सिरी ए लिग फुटबलमा दोस्रो स्थानको इन्टर मिलान र पाँचौं स्थानको नापोली एकैदिन पराजित भएका छन् । बुधबार राति भएको लिगको १५औं साताको खेलमा नापोली तुलनात्मक रूपमा कमजोर टोली स्पेजियासँग आफ्नै घरेलु मैदानमा १–२ ले स्तब्ध बनेको हो । सो खेलअघि दोस्रो स्थानको इन्टर मिलान पनि साम्पडोरियासँग २–१ ले नै पराजित भएको थियो । यी दुवैको हारले अब युभेन्टस र एटलान्टालाई अंक तालिकामा माथि उक्लिन फाइदा मिल्ने भएको छ ।

नापोलीले आफ्नो घरेलु मैदानमा खेलको ५८औं मिनेटमा आन्ड्रेया पेटाग्नाको गोलबाट अग्रता लिएको थियो । तर, त्यसपछि स्पेजिया १० खेलाडीमा सीमित भएर पनि नापोलीलाई उसकै घरमा स्तब्ध बनायो । स्पेजियाका लागि ६८औं मिनेटमा एमबाला जोलाले पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए ।

त्यसपछि ७७औं मिनेटमा डिफेन्डर आड्रेन इस्माज्ली दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेपछि स्पेजिया १० खेलाडीमा सीमित भएको थियो । तर, स्पेजियाले हिम्मत हारेन । र, घरेलु टोलीमाथि लगातार दबाब बनाइराख्यो । सोहीक्रममा ८१औं मिनेटमा टोमासो पोगेबाले गोल गरेपछि नापोली संकटमा परेको थियो । गोल खाएपछि घरेलु टोली खेलमा फर्किन सकेन । र, खेल स्पेजियाले १–२ ले जित्यो ।

अब यो जितपछि स्पेजिया १६ खेलबाट १४ अंक जोडेर १६औं स्थानमा चढेको छ । पराजित नापोली १५ खेलपछि २८ अंकका साथ छैटौं स्थानमा झरेको छ । नापोलीको हारले अब प्रत्ययक्ष रूपमा युभेन्टसलाई फाइदा भएको छ । युभेन्टस आफ्नो खेल जितेर चौथो स्थानमा चढेको छ । अझै पनि नापोली एटलान्टा र लाजियोभन्दा भने अघि नै रहेको छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ००:५२
Loading...