दोस्रो स्थानको इन्टर मिलान पराजित : युभेन्टसलाई फाइदा !

काठमाडौं, पुस २२
इटालियन सिरी ए लिग फुटबलमा उपाधि होडमा रहेको इन्टर मिलानलाई ठूलो झट्का लागेको छ । ऊ लिगको १६औं साताको खेलमा पराजित भएको छ । आज बुधबार राति भएको खेलमा घरेलु टोली साम्पडोरियाले पाहुना टोली मिलानलाई २–१ ले स्तब्ध बनायो । मिलान हार्दा अब साबिक विजेता युभेन्टस, नापोली, एटलान्टासहितका टिमलाई अंक तालिकामा फाइदा पुग्नेछ ।

प्रमुख खेलाडीको सेट लिएर साम्पडोरियाको मैदानमा उत्रिएको मिलान खेलको ३८औं मिनेटमा पुग्दा २–० ले पछि परिसकेको थियो । घरेलु टोलीका लागि २३औं मिनेटमा पेनाल्टीमार्फत् एन्टोनियो कान्ड्रेभाले गोल गरेर मिलानलाई झट्का दिएका थिए । त्यसपछि खेलको ३८औं मिनेटमा केइटा बाल्डेले दोस्रो गोल थपेपछि मिलान २–० ले पछि परेको थियो ।

दोस्रो हाफमा मिलानले सुरुआतबाटै खेलमा फर्किन ठूलै संघर्ष देखायो । उसले खेलभरिमा कूल २५ आक्रमण बुन्दा ७ पटक अन टार्गेट हानेको थियो । तर, उसले हार पन्छाउन सकेन । खेलको ६५औं मिनेटमा स्टेफान डे भ्रिजले गोल गरेर मिलानलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर, बाँकी समयमा मिलानले दोस्रो गोल निकाल्न नसक्दा २–१ हो हार भोग्न बाध्य भयो ।

पछिल्लो समय शानदार लयमा रहेको मिलानले लगातार ५ खेल जितेपछि आज हार भोगेको हो । यो उसको सिजनको दोस्रो हार हो । अब मिलान अझै १६ खेलपछि ३६ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ऊ एक खेल कम खेलेको लिग लिडर एसी मिलानभन्दा १ अंकले पछि छ । यदि आज राति हुने एसी मिलान र युभेन्टसको खेलमा एसी मिलान पराजित भए इन्टर मिलानलाई राहत मिल्ने भए पनि इन्टर मिलान र एसी मिलान दुवै हार्दाको फाइदा भने युभन्टससहितका टिमले लिनेछन् । किनभने, उनीहरूले सिरानका टोलीहरूसँग दूरी घटाउनेछन् । यदि एसी मिलानले युभेन्टसलाई हराए इन्टर मिलान दोस्रो स्थानमा ४ अंकले पछि पर्नेछ ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार २२:१३
Loading...