मेस्सी र रामोससहितको तुफानी टिम बनाएर ‘युसिएलमा ह्याट्रिक’ गर्ने पिएसजीको सपना !

एजेन्सी, पुस २२
स्पेनका दुई महारथि क्लब रियल मड्रिडका डिफेन्डर सर्जियो रामोस र बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी विगत लामो समयदेखि एकअर्काका कट्टर प्रतिस्पर्धीका रूपमा खेल्दै आएका छन् । खास गरी बार्सिलोना र रियल मड्रिडको खेललाई विश्व क्लब फुटबलमा सबैभन्दा चर्को प्रतिस्पर्धा हुने खेलका रूपमा चिनिन्छ । यो खेलमा फुटबलभन्दा ज्यादा प्रतिष्ठाको लडाइँ झल्किन्छ । यी दुई टोली खेल्दा दुवै टोलीका खेलाडीबीच पनि त्यो स्तरको चर्को प्रतिस्पर्धा देखिन्छ ।

इएल क्लासिको हुँदा विभिन्न समयमा रियलका डिफेन्डर रामोस र बार्सिलोनाका फरवार्ड मेस्सीबीच मैदानमा कहिले टकराव त कहिले सद्भावका सिन देखिँदै आएको छ । कहिलेकाहीं रामोस मेस्सीमाथि खेल दौरान अनावश्यक जाइलाग्ने गरेको भन्दै आलोचना पनि खेप्दै आएका छन् । तर, खेलपछि मेस्सी र रामोस दुवै अंकमाल गर्दै छुट्टिन्छन् । यस्तो विगत र शैलीका यी दुई खेलाडी कुनै बेला एकै क्लबमा सहकर्मी बनेर खेल्ने कल्पना कसैले गरेका थिएनन् होला । वा, अझै पनि गर्दैनन् होला ।

तर, फुटबलको सरुवा बजारमा यतिबेला फ्रेन्च क्लब पिएसजीले रियलका कप्तान रामोस र बार्सिलोनाका कप्तान मेस्सीलाई भित्र्याउन कसरत थालेको चर्चा चुलीमा पुगेको छ । नयाँ प्रशिक्षक मोउरिसियो पोचेटिनो पिएसजीको नयाँ प्रशिक्षक बनेपछि त यो विषयले झनै चर्चा पाएको छ । युरोपको धनीमध्ये एक क्लब पिएसजी आगामी सिजन स्पेनिस डिफेन्डर रामोस र अर्जेन्टिनी फरवार्ड मेस्सीलाई समेटेर ‘युरोपको नम्बर वान तुफानी टिम’बनाउने योजनामा छ ।

रामोस र मेस्सी दुवै अहिले आ–आफ्नो टिमका कप्तान छन् । तर, यी दुवै खेलाडीको क्लबसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । र, दुवै खेलाडीले क्लबसँग सम्झौता लम्ब्याउने सम्भावना न्यून देखिएको छ । मेस्सी १७ वर्षदेखि बार्सिलोनामा छन् भने रामोस १६ वर्षदेखि रियलमा छन् । रियल रामोस र बार्सिलोना मेस्सी बाहिर नजाउन् भन्नेमै देखिएका छन् । तर, यी दुई खेलाडी र क्लबबीच नयाँ सम्झौताका लागि सहमति बन्ने सम्भावना कम छ ।

यदि रामोस र मेस्सीले आ–आफ्नो क्लबसँग सम्झौता नगरे पिएसजी यी दुवै खेलाडीलाई भित्र्याउन सबैभन्दा अगाडि आउने विभिन्न रिपोर्टहरूले जनाएका छन् । रामोस हाल ३४ वर्षका छन् भने मेस्सी चाँडै ३४ वर्षका पुग्दैछन् । यी दुवै खेलाडी अझै दुई सिजनसम्म उच्च लिगमा राम्रोसँग खेल्न सक्छन् । र, उनीहरू त्यसका लागि तयार देखिन्छन् ।

पिएसजीका नयाँ प्रशिक्षक पोचेटिनोले मेस्सी र रामोसको अवस्था बुझेर सरुवाका लागि योजना बनाइरहेको बुझिएको छ । केही समयअघि ब्राजिलियन स्टार नेइमारले पनि एक अन्तर्वार्तामा बोल्दै यदि सर्जियो रामोस पिएसजीमा अनुबन्ध भए आफू पनि पिएसजीमै रहने र पिएसजीले लगातार दुई वा तीन सिजन च्याम्पियन्स लिग जित्ने दाबी गरेका थिए । उनले रामोसलाई सार्वजनिक रूपमै पिएसजीमा अनुबन्ध हुन अनुरोध गरेका थिए ।

विगतमा बार्सिलोनामा नइमार र मेस्सीले चार वर्ष सँगै खेलेकाले पिएसजीले यी दुई खेलाडीलाई पुनः एकपटक एकै जर्सीमा खेलाउने सपना देख्नु सामान्य नै हो । पिएसजीलाई आशा छ कि, यदि बार्सिलोनाबाट मेस्सी र रियलबाट रामोस अनुबन्ध भए आफ्नो टिम पिएसजी युरोपको सबैभन्दा मजबुत टिम बन्छ, जसले लगातार च्याम्पियन्स लिग जित्न सक्छ ।

यता, केही स्पेनिस मिडियाका अनुसार रामोसले पनि क्लबसँग आफूले चाहेजस्तो नहुने भएपछि रियलको एकवर्षे सझौताको प्रस्ताव इन्कार गरेका छन् । रामोस रियलसँग दुई सिजन सम्झौता थप गर्न चाहन्छन् । तर, रियल उनलाई एक सिजनभन्दा बढी राख्ने पक्षमा छैन । यदि रियलले दुई सिजन सम्झौता दिन तयार नभए रामोस रियल छाडेर पिएसजी जान तयार हुने सम्भावना प्रबल देखिएको छ ।

यता, बार्सिलोनाका मेस्सीले त यो सिजनको पूर्वसन्ध्यामै बार्सिलोना छाड्ने निर्णय गरेका थिए । तर, फ्रि ट्रान्सफर जान नपाएपछि उनी बाध्य भएर बार्सिलोनामा रहेका थिए । यो सिजनको अन्त्यपछि मेस्सीले २१ वर्षदेखि रहँदै आएको क्लबलाई टाटा बाई–बाई गर्ने करिब तय छ । उनलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि भित्र्याउन प्रयास गरिरहेको चर्चा विगतदेखि नै छ ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार २१:३६
Loading...