रोनाल्डो र मेस्सीलाई पेलेको सन्देश– ‘मेरो गोल संख्या १२८३ हो’

एजेन्सी, पुस २२
गत पुस ७ गते स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले क्लबका लागि ६४४ गोल गर्दै लिजेन्ड ब्राजिलका पेलेका नाममा रहेको एक क्लबका लागि सर्वाधिक गोलको रेकर्ड भंग गरे । पेलेले ब्राजिलको घरेलु क्लब सान्तोषमा पूरै करिअर बिताउनेक्रममा कूल ६४३ गोल गरेका थिए, जुन फुटबल इतिहासमा कुनै पनि खेलाडीले एकै क्लबमा गरेको सर्वाधिक गोलको रेकर्ड थियो ।

मेस्सीले पुस ७ मा ला लिगाअन्तर्गत रियल भाल्लाडोलिडविरुद्ध खेल्नेक्रममा १ गोल गर्दै पेलेका नाममा रहेको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाए । केही समयअघिसम्म पेलेका नाममा रहेको सो रेकर्ड अब मेस्सीका नाममा रहेको छ । पेलेको रेकर्ड तोडेपछि मेस्सीले सामाजिक सन्जालमार्फत् पोस्ट गर्दै खुसी व्यक्त गरे । त्यसको २ दिनपछि पेले स्वयंले पनि मेस्सीलाई आफ्नो रेकर्ड भंग गरेकोमा बधाई दिए । र, मेस्सीको प्रशंसा गरे ।

त्यसको केही दिनपछि पेलेको त्यसबेलाको क्लब सान्तोषले आफ्नो अफिसियल मिडियामार्फत् मेस्सीले पेलेको रेकर्ड तोडेको भन्ने कुरा झुठो रहेको बताउँदै मेस्सीको रेकर्ड अस्वीकार गरिदियो । मेस्सीले बार्सिलोनाका लागि मैत्रीपूर्ण र अफिसियल गरी कूल ६४४ गोल गरेको तर पेलेले सान्तोषका लागि अफिसियल गोल मात्रै ६४३ गरेको सान्तोषको दाबी थियो । यदि मेस्सीले बार्सिलोनाका लागि गरेको सबैखाले प्रतियोगितामा गरेको गोल गणना गरेजस्तै पेलेले सान्तोषका लागि गरेको सबैखाले गोल गणना गर्ने हो भने पेलेको कूल गोल १ हजार ९१ गोल हुने सान्तोषले बतायो ।

त्यस आधारमा मेस्सीले पेलेको रेकर्ड तोड्न अझै ४४८ गोल गनुपर्ने दाबी गर्दै सान्तोषले मेस्सीको रेकर्ड अस्वीकार गरेको थियो । सान्तोषका अनुसार पेलेले सान्तोषका लागि सबैखाले प्रतियोगितामा गरी कूल १ हजार ९१ गोल गरेका छन्, यता बार्सिलोनाका लागि मेस्सीले सबैखाले प्रतियोगिताबाट कूल ६४४ गोल गरेका छन् । सान्तोषका अनुसार पेलेले ६४३ गोल त अफिसियल खेलमा मात्रै गरेका छन् ।

रोनाल्डोले अर्को रेकर्ड तोड्दा पेलेको इन्स्टाग्राम बायो नै चेन्ज !

दुई दिनअघि अर्थात् पुस २२ गते इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पेलेका नाममा रहेको दोस्रो सर्वाधिक अफिसियल गोलको रकेर्ड तोडे । सिरी ए लिगमा उडिनेसविरुद्ध रोनाल्डोले २ गोल गर्दै आफ्नो अफिसियल गोल संख्या ७५८ बनाए, जुन यसअघि पेलेका नाममा रहेको ७५७ भन्दा १ गोलले बढी हो । फुटबल इतिहासमा सबैभन्दा धेरै अफिसियल गोलको रेकर्डमा अहिले टप–३ खेलाडी छन् ।

जसमा अस्ट्रियन खेलाडी जोसेफ बिकान ७५९ गोलसहित शीर्ष स्थानमा छन् । त्यसपछि अब दोस्रो स्थानमा रोनाल्डो ७५८ गोलसहित रहँदा यसअघि दोस्रो स्थानमा रहेका पेले तेस्रो स्थानमा झरेका छन् । यदि रोनाल्डोले अब २ गोल गरेको खण्डमा उनी बिकानलाई समेत पछि पारेर इतिहासकै सर्वाधिक अफिसियल गोल गर्ने खेलाडी बन्नेछन् । १ गोलपछि उनले बिकानसँगको रेकर्ड बराबरी गर्नेछन् । पोर्चुगलका खेलाडी रोनाल्डोले आफूलाई सर्वाधिक अफिसियल गोलमा पछि पारेपछि महान् खेलाडी पेलेले आफ्नो गोल संख्याबारे सार्वजनिक रूपमा जानकारी गराएका छन् ।

रोनाल्डोले आफ्नो रेकर्ड भंग गरेको एक दिनपछि पेलेले सामाजिक सन्जाल इन्स्टाग्राममा आफ्नो बायोडाटा अपडेट गर्दै आफ्नो कूल गोल संख्या १२८३ रहेको बताएका छन् । पेलेले यसरी बायोमा तथ्यांक राख्नुलाई उनले मेस्सी र रोनाल्डोको गोल संख्यालाई इंगित गर्न खोजेको विश्लेषण फुटबल वृत्तमा गरिएको छ । उनले सोझै नबताए पनि घुमाउरो पारामा ‘मेस्सी र रोनाल्डो अझै आफ्नो कूल गोल संख्याभन्दा धेरै टाढा रहेको’ सन्देश पेलेले दिएको सजिलै बुझ्न सकिन्छ ।

विश्व फुटबलका दुई ठूला हस्तीहरूले केही दिनका बीचमा आफ्ना नाममा रहेका दुई ठूला रेकर्ड तोडेपछि पेलेले आफ्नो बायो परिवर्तन गरेर आफ्नो गोल संख्या कति छ भनेर रोनाल्डो र मेस्सीलाई सम्झाउन खोजेको देखिन्छ । उनले पूर्वाग्राह राखेर यसो नगरेको भए पनि उनको यस सन्देशलाई पनि अर्थपूर्ण मानिएको छ । पेलेले आफ्नो १२८३ गोल संख्यालाई फुटबल इतिहासकै सबैभन्दा धेरै गोल संख्या भनेका छन् ।

पेलेले दाबी गरेको १२०० भन्दा बढी गोल संख्यामा सिनियर करिअरमा गरेका गोल मात्रै छैनन् । उनले व्यावसायिक फुटबलमा आउनुअघि आर्मीमा रहेका बेला खेल्दा गरेका गोल समेत पर्छन् । पेलेले क्लब सान्तोष र ब्राजिलको राष्ट्रिय टिमका लागि गरेका गोलबाहेक न्युयोर्क कसमसका लागि गरेको गोल पनि यसमा गणना गरिएको छ ।

तर, सामान्यतः खेलाडीले सिनियर करिअरमा गरेका गोलबाहेकलाई अफिसियल गोलका रूपमा गणना गरिँदैन । उमेर समूहमा रहेर खेल्दाका गोल सिनियर करिअरमा गणना गर्ने चलन छैन । फिफाले नै कुनै पनि खेलाडीले सिनियर टोलीबाट गरेका गोललाई मात्रै तथ्यांकमा राख्छ । र, त्यसैलाई आधिकारिक मानिन्छ । त्यसमा अफिसियल र मैत्रीपूर्ण गोल फिफाले नै छुट्याएर राख्छ । अहिले फुटबलमा गोल गणनामा भइरहेको अभ्यास पनि यही हो ।

तर, पेलेले भने जसरी उनले सबैखाले प्रतियोगितामा गरेको कूल गोल संख्यालाई सिनियर करिअरका गोलमा गणना गरिँदैन । र, फिफा वा कुनै पनि आधिकारिक निकायले त्यस्तो तथ्यांक राखेको छैन । अन–अफिसियल रूपमा मात्रै यस्ता तथ्यांक रहने गर्छन् । आजसम्म पेलेका नाममा अफिसियल रूपमा रहेको कूल गोल सख्या भनेको ७५७ नै हो । पेलेले ७५७ गोलका लागि ८१२ खेल खेलेका थिए ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार १९:०१
Loading...