आज लिग लिडर एसी मिलान र युभेन्टसको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, पुस २२
इटालियन सिरी ए लिग फुटबलमा आज १६औं साताका खेलहरू हुँदैछन् । व्यस्त खेल तालिकाबीच आज एकैदिन १६औं साताका १० वटै खेल हुन लागेका हुन् । आज हुने खेलहरूमध्ये लिग लिडर एसी मिलान र पाँचौं स्थानको युभेन्टसको खेल सबैभन्दा आकर्षणको खेल हुनेछ ।

सिजनको पहिलो लेगको खेलका लागि एसी मिलानले आज साबिक च्याम्पियन युभेन्टसलाई आफ्नो खरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सान सिरो रंगशालामा सुरु हुनेछ । जारी सिजन युरोपका टप–५ लिगमा एक मात्रै अपराजित टिम मिलानका लागि आजको खेल खास हुनेछ ।

हाल अंक तालिकामा मिलान १५ खेलबाट ३७ अंक बनाएर पहिलो स्थानमा छ । उसले यो सिजन १५ खेल खेलिसक्दा ११ खेल जितेको छ भने ४ खेल बराबरी गरेको छ । जारी सिजन घरेलु लिगमा अपराजित रहने मिलान एक मात्रै टिम हो । यता, आज मिलानको घरमा उत्रिन लागेको युभेन्टस हाल १४ खेलपछि २७ अंक बनाएर पाँचौं स्थानमा छ । ऊ मिलानभन्दा १० अंकले पछि छ ।

यो सिजन लिगमा कमजोर अवस्थामा रहेको युभेन्टसलाई लिग लिडरसँगको अंक दूरी घटाउन र उपाधि होडमा फर्किन आजको खेल ज्यादै महत्त्वपूर्ण हुनछ । यदि आज सान सिरोमा स्पष्ट जित निकाल्न सके युभेन्टसले मिलानसँगको दूरी ७ मा छोट्याउनेछ । त्यसपछि बाँकी एक खेल पनि जिते युभेन्टस र मिलानबीचको दूरी ४ मा झर्नेछ ।

आज मिलान पनि दबाबमा हुनेछ । उपाधि होडमा थप अग्रता बनाउन उसका लागि युभेन्टसमाथिको जित उति नै महत्त्वपूर्ण छ । यो खेल जित्दा उसले युभेन्टसलाई निकै पछि पार्नेछ । सम्भवतः त्यसपछि युभेन्टसका लागि मिलानलाई पछ्याउन कठिन हुनेछ । आज मिलान घरमा हुने खेलमा जित निकाल्न मात्रै चाहँदैन, युरोपमा अपराजित यात्रालाई कायमै राख्न पनि चाहन्छ ।

आज हुने खेलहरू नेपाली समयमा

क्याग्लिअरी भर्सेस बेनेभेन्टो – साँझ ५ः१५ बजे
बोलोग्ना भर्सेस उडिनेस – राति ७ः४५ बजे
लाजियो भर्सेस फियोरेन्टिना – राति ७ः४५ बजे
क्रोटोने भर्सेस रोमा – राति ७ः४५ बजे
साम्पडोरिया भर्सेस इन्टर मिलान – राति ७ः४५ बजे
एटलान्टा भर्सेस पार्मा – राति ७ः४५ बजे
टोरिनो भर्सेस भेरोना – राति ७ः४५ बजे
सासुओलो भर्सेस जेनोआ – राति ७ः४५ बजे
नापोली भर्सेस स्पेजिया – राति १०ः४५ बजे
एसी मिलान भर्सेस युभेन्टस – राति १ः३० बजे

प्रकाशित मिति २२ पुष २०७७, बुधबार ११:५८
Loading...