आज बार्सिलोना बिल्बाओसँग भिड्दै : तेस्रो स्थानमा चढ्ने मौका

काठमाडौं, पुस २२
स्पेनिस ला लिगा फुटबलमा आज राति एक खेल हुँदैछ, बार्सिलोना र एथ्लेटिक बिल्बाओ सिजनको पहिलो लेगमा आमनेसामने हुँदैछन् । आज हुने खेल स्थगित भएको सिजनको दोस्रो राउन्डको खेल हो । यसअघि बार्सिलोनाका सुरुआती खेल भएका थिएनन् । क्याटलान टिमले आज दोस्रो सातामा हुने खेल खेल्न लागेको हो ।

आजको खेलका लागि बिल्बाओले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । लिगका दुई बलिया टोली खेल्ने भएकाले यो खेल दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना १६ खेलपछि २८ अंकका साथ पाँचौं स्थानमा छ । ऊ लिग लिडर एथ्लटिको मड्रिडभन्दा १० र दोस्रो स्थानको रियल मड्रिडभन्दा ८ अंकल पछि छ । यदि आज बार्सिलोनाले अवे मैदानमा स्पष्ट नतिजा निकाले उसले रियल र एथ्लेटिकोसँग अंक दूरी मात्रै घटाउँदैन, अंक तालिकाको तेस्रो स्थानमा पनि उक्लिनेछ ।

आज बार्सिलोनालाई आफ्नो मैदानमा स्वागत गर्न लागेको बिल्बाओ १७ खेलपछि २१ अंकका साथ नवौं स्थानमा छ । उसले यो सिजन हालसम्म ८ खेल हारिसकेको छ । बिल्बाओ आज बार्सिलोनालाई आफ्नो मैदानमा आमन्त्रण गरेर स्पष्ट जित निकाल्ने दाउमा छ । यी दुई टोलीबीच ला लिगामा गत सिजन भएको अन्तिम खेलमा बार्सिलोनाले आफ्नो घरमा १–० ले जितेको थियो । गत सिजन नै बिल्बाओले बार्सिलोनालाई कोपा डेल रे फुटबलको अन्तिम आठमा १–० ले हराउँदै आउट गराएको थियो ।

पछिल्लो समय कमजोर प्रदर्शनका कारण आलोचना खेप्दै आएको बार्सिलोनाका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । प्रशिक्षक रोनाल्ड कोम्यान अहिले चर्को दबाब थेगिरहेका छन् । अंक तालिकामा सुधार गर्न र दबाब कम गर्न कोम्यानलाई आजको जित आवश्यक छ । बार्सिलोनाले लिगका पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर २ खेल बराबरी गरेको छ ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार ०७:५७
Loading...