टोटनह्याम काराबाओ कपको फाइनल प्रवेश

काठमाडौं, पुस २२
इंग्लिस क्लब टोटनह्याम इएफएल (काराबाओ) कप फुटबलको फाइनल प्रवेश गरेको छ । गत राति भएको सेमिफाइनल खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा तल्लो डिभिजनको क्लब ब्रेन्टफोर्डलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । टोटनह्याम फाइनल पुग्ने पहिलो टिम हो ।

टोटनह्यामलाई जिताउन २ जना खेलाडीले गोल गरे । खेलको १२औं मिनेटमा मोउसा सिसास्कोले सर्जियो रेगुइलियोनको पासमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि टोटनह्यामलाई जित निश्चित गर्न खेलको ७०औं मिनेटसम्म पर्खनु परेको थियो । यसपटक सन हेङ मिनले गोल गर्दै टोटनह्यामको २–० को जित पक्का गरे ।

अब टोटनह्यामले काराबाओ कपको फाइनलमा उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेता टोलीसँग सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेलमा आज राति म्यानचेस्टर डर्बी हुँदैछ ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार ०७:२४
Loading...