जिदानले गरे मार्सेलोको प्रशंसा

एजेन्सी, पुस २१
स्पेनिस फुटबल रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलोले यो सिजन धेरै खेल्न पाएका छैनन् । प्रशिक्षक जिनेदिन जिदानले विश्वास गरेका खेलाडी भए पनि टोली निर्माणमा ब्राजिलियन खेलाडीले कमै मात्र मौका पाइरहेका छन् । उनले पछिल्लोपटक ला लिगामा इल्चेविरुद्ध खेलेका थिए । सो खेलमा जिदानले मार्सेलोलाई सुरुआतमै खेलाएका थिए ।

अवे मैदानमा रियल सो खेलमा निराशाजनक १–१ को बराबरीमा रोकिए पनि मार्सेलोले व्यक्तिगत रूपमा उच्च्च प्रदर्शन गरेका थिए । उनका लागि यो सिजनको छैटौं लिग गोल थियो । हालसम्म उनले यो सिजन ला लिगा र च्याम्पियन्स लिग गरी मात्रै ७ खेल खेल्दा १ असिस्ट गरेका छन् । फ्रेन्च डिफेन्डर फोर्लान् मेन्डीले अहिले रियलमा मार्सेलोको स्थान लिइरहेका छन् । यतिबेला मेन्डी पहिलो रोजाइ र मार्सेलो दोस्रो रोजाइका लेफ्ट ब्याक हुन् ।

इल्चेसँगको खेलपछि जिदानले मार्सेलोको तारिफ गरे । हालै एक अन्तर्वार्तामा कुरा गर्दै मार्सेलोको अवस्थाबारे उनले बताएका छन् । सोसक्रममा जिदानले मार्सेलो अझै आफ्नो योजनामा रहेको बताउँदै इल्चेविरुद्ध उनको खेलबाट आफू खुसी भएको बताए । ‘मैले उनलाई हेर्न छाडेको छैन । उनी अझै मेरो योजनामा छन्,’ जिदानले भने, ‘इल्चेविरुद्ध उनले निकै राम्रो गरे । सो खेलमा मार्सेलो र एसेन्सियोबाट म धेरै खुसी थिएँ ।’

मार्सेलोले रियल मड्रिडलाई धेरैथोक दिएको भन्दै उनले कम खेल्दैमा उनको महत्त्व घट्दै गएको भनेर बुझ्नु नहुने जिदानले बताए । ‘मार्सेलो कस्ता खेलाडी हुन्, त्यो मैले भन्नै पर्दैन । उनले यस क्लबलाई सबथोक दिएका छन् । हामीले सँगै लामो समय काम गरिसकेका छौं । उनी अझै पनि बेस्ट छन्,’ जिदानले भने, ‘जतिबेला रियल मड्रिडले च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको थियो, त्यसबेला मार्सेलो मेरो टिममा प्रमुख खेलाडी थिए । म उनलाई कसरी बेवास्ता गर्न सक्छु ?’

जिदानले मार्सेलोले आगामी खेलहरूमा राम्रो समय पाउने पनि बताए । ‘लिगमा अझै थुप्रै खेलहरू बाँकी छन् । उनले आगामी दिनमा राम्रो समय पाउनेछन्,’ जिदानले थपे, ‘मलाई विश्वास छ, उनले रियल मड्रिडलाई अझै उच्चस्तरको प्रदर्शन दिन सक्छन् ।’

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार १९:४२
Loading...