‘स्वारेजलाई लखेट्नु गल्ती भयो’ भन्न गाह्रो : फरवार्ड नहुँदा कोम्यानलाई तनाव !

एजेन्सी, पुस २१
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले टिममा गोल गर्ने फरवार्डको अभाव खड्किएको बताएका छन् । वर्ष २०२१ को पहिलो खेलमा हुएस्कालाई अवे मैदानमा ०–१ ले कठिन अवस्थाबाट जितेपछि मिडियासँग कुरा गर्दै डच कोचले टोलीले धेरै गोल गर्न नसकिरहेका अवस्थाबारे बताए । सोक्रममा उनले आफ्नो सेटमा अहिले एकजना फरवार्डको ठाउँ खाली हुँदा त्यसकै असर नतिजामा परिरहेको बताए ।

गत समर विन्डोमा लुइस स्वारेजलाई फ्री ट्रान्सफरमा एथ्लेटिको मड्रिड पठाएपछि बार्सिलोनाले नयाँ फरवार्ड भित्र्याउने चर्चा थियो । चर्चामा इटालियन इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज र फ्रेन्च क्लब लियोनका डच फरवार्ड मेम्फिस डिपेको नाम थियो । यी दुईमध्ये कोम्यानले आफ्नै देशका डिपेलाई पहिलो प्राथमिकतामा राखेका थिए । तर, उनको योजनाअनुसार बार्सिलोनाले समरमै कुनै फरवार्ड ल्याएन ।

अहिले जनवरी विन्डो खुला भइसकेको छ । तैपनि, बार्सिलोनाले हालसम्म नयाँ फरवार्डबारे केही गरेको छैन । कोम्यान अझै पनि स्वारेजको स्थानमा डिपेलाई भित्र्याउन चाहन्छन् । सो कुरा उनले सार्वजनिक रूपमै बताउँदै आएका छन् । स्वारेज बार्सिलोनामा छँदा लिओनल मेस्सीपछि धेरै गोल र असिस्ट गर्ने खेलाडी थिए । तर, उमेर बढेको भन्दै कोम्यानले स्वारेजलाई आफ्नो योजनामा राखेनन् । स्वारेज एकपक्षीय रूपमा लेखेटिए । स्वारेज आफ्नो सम्झौताभरि थप एक सिजन बार्सिलोनामै रहन चाहन्थे ।

स्वारेज एथ्लेटिकोमा गएपछि उच्च लयमा छन् । उनी अहिले ला लिगाको सर्वाधिक गोलकर्ता छन् । उनको टिम ला लिगको शीर्ष स्थानमा छ । ठीक यता बार्सिलोना भने कठिन स्थितिमा छ । बार्सिलोना धेरै गोल गर्न नसकेकै कारण लिगमा ठूलै संघर्ष गरिरहेको छ । कप्तान मेस्सीले पनि स्वारेजसँगको साझेदारी छुटेपछि राम्रो गर्न सकेका छैनन् । स्वारेजले एथ्लेटिको मड्रिडका लागि ला लिगामा ११ खेलबाट बिनापेनाल्टी ९ गोल गर्दा मेस्सीले बार्सिलोनामा १५ खेलबाट २ पेनाल्टीसहित ७ गोल मात्रै गरेका छन् ।

अहिले कोम्यानले स्वारेजलाई फ्र्री ट्रान्सफरमा आफ्नो सोझो प्रतिस्पर्धी क्लब पठाएर गल्ती गरेको र अहिले त्यसमा उनलाई ठूलो पछुतो रहेको चर्चा चलिरहेका कोम्यान स्वयंले यसबारे बोलेका छन् । उनले खुलेरै स्वारेजको बिदा गर्नु गल्ती थियो भनेका छैनन् । बरु, उनले त स्वारेज बेचेर कुनै पछुतो नरहेको बताएका छन् । तर, स्वारेजको स्थानमा फरवार्ड नहुँदा पनि चिन्ता बढेको उनले बताएका छन् । स्पष्ट रूपमा उनले स्वारेजले गर्ने गोल दिन सक्ने खेलाडी टोलीमा नहुँदा समस्या बढेको स्वीकारेका छन् ।

‘स्वारेजलाई पठाउनुमा मलाई पछुतो छैन । यो मेरो मात्रै निर्णय थिएन, क्लबको पनि योजना थियो । उनी यहाँ छँदा थुप्रै गोल गर्थे । र, टिमलाई सघाउँथे,’ कोम्यानले भने, ‘तर, उनी गएपछि हामीले नयाँ खेलाडी भित्र्याउन सकेनौं । यो साँचो हो, स्वारेजले यहाँ गर्नेजति गोल दिन सक्ने खलाडी हामीलाई आवश्यक थियो, जुन अझै हुन सकेको छैन ।’

कोम्यानले आफूले टिममा ३ जना मिडफिल्डर खेलाउँदा ३ जना फरवार्ड चाहिने भएकाले गोलकर्ता फरवार्ड नहुँदा समस्या बढेको स्वीकारे । ‘जब ३ जना मिडफिल्डर खेलाइन्छ भने त्यहाँ ३ जना फरवार्डको ठाउँ हुन्छ, जुन अहिले तेस्रो फरवार्डको ठाउँ खाली छ । हामीले स्वारेजलाई पठाउनासथ नयाँ फरवार्ड ल्याउनुपर्ने थियो । अहिले हामीलाई ९ नम्बर फरवार्डको गोलको अभाव खड्किएको साँचो हो,’ कोम्यानले थपे ।

कोम्यानले ला लिगा र अन्य प्रतियोगितामा सुधार गर्ने भए जनवरीभित्रै नयाँ फरवार्ड चाहिने पनि बताए । ‘म स्पष्ट छु, हामी हालको अवस्था सुधारेर अघि बढ्न चाहन्छौं भने हामीलाई जनवरीमै नयाँ फरवार्ड चाहिन्छ । यसबारे क्लबले सोचिरहेको छ,’ कोम्यानले थपे ।

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार १८:५८
Loading...