नयाँ वर्षको पहिलो खेलमा लिभरपुल हार्यो : युनाइटेडलाई फाइदा !

काठमाडौं, पुस २१
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल नयाँ वर्ष २०२१ को पहिलो खेलमा पराजित भएको छ । गत राति भएको खेलमा घरेलु टोली साउथह्यामपटनले पाहुना टोली लिभरपुलमाथि १–० को जित निकालेको हो । यो हारसँगै लिभरपुललाई अंक तालिकामा ठूलो झट्का लागेको छ ।

अंक तालिकामा ३ अंकको स्पष्ट अग्रता बनाउने लक्ष्यका साथ साउथह्यामपटनको घरेलु मैदानमा उत्रिँदा लिभरपुलले खेलको दोस्रो मिनेटमा गोल खाएपछि कमब्याक गर्न नसक्दा हार भोग्नु परेको हो । साउथह्यामपटनले खेलमा पाएको पहिलो फ्रि किक प्रहारको मुभमा गोल गरेको थियो ।

वार्ड प्रोेजले लामो दूरीबाट हानेको हाई फ्रि किक प्रहारलाई बक्स नजिकै रहेका डनी इङ्सले बल बक्स भित्र पुराएर पोस्टको माथिल्लो कुना च्यापेर हलुका हाई हानेको बलले जाली चुमेको थियो । लिभरपुलका गोलकिपरले सो गोललाई रोक्न राम्रोसँग प्रयासमेत गर्न पाएनन् ।

सो गोलपछि लिभरपुलले खेलभरि नै गोल गर्न सकेन । साउथह्यामपटनको मजबुत रक्षापंक्ति उसले एकपटक पनि तोड्न सकेन । लिभरपुलले पछि परेको अवस्थामा खेलमा फर्किन कम्ता मात्रै संघर्ष गरेन । उसले कूल १७ पटक आक्रमण बुन्यो तर मात्रै एकपटक अन टार्गेट हानेको थियो । अन्ततः साउथह्यामपटनले दोस्रो मिनेटमा गरेको गोललाई नै बचाएर लिग लिडरलाई वर्षको पहिलो खेलमा १–० ले स्तब्ध बनायो ।

अब यो हारपछि लिभरपुलले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउने मौका पनि गुमायो । यो खेल जितेको भए उसले आफूमाथि दबाब बनाइरहेको युनाइटेडलाई ३ अंकले पछि पार्ने थियो । अब लिभरपुलको खातामा १७ खेलपछि ३३ अंक छ । एक खेल कम खेलेको युनाइटेडको खातामा पनि समान ३३ नै अंक छ । यदि बाँकी एक खेल युनाइटेडले जिते उसले लिभरपुलाई स्पष्ट ३ अंकले पछि पार्नेछ । यता, लिभरपुललाई हराएको साउथह्यामपटन २९ अंक बनाएर छैटौं स्थानमा चढेको छ ।

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार ०८:१८
Loading...